काठमाडौं । हप्तामा पाँच दिन काम गर्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने र तलबसम्बन्धी बाँकी मुद्दाहरू समाधान गर्नुपर्ने माग राख्दै ‘युनाइटेड फोरम अफ बैंक युनियन्स’ ले देशव्यापी हडतालको आह्वान गरेपछि शुक्रबारदेखि भारतमा सरकारी स्वामित्वको बैंकिङ सेवाहरू प्रभावित भएका छन् ।
सरकारी स्वामित्वको बैंकमा कार्यरत अधिकृत र कर्मचारीहरूको ९० प्रतिशत हिस्सा प्रतिनिधित्व गर्ने सातवटा युनियनहरूको छाता संगठनले आह्वान गरेको यो हडतालको निजी क्षेत्रका बैंकहरूको कामकाजमा भने कुनै असर परेन। कर्मचारी र अधिकृतहरू दुबैले हडतालमा सहभागिता जनाएकाले देशभरका सार्वजनिक क्षेत्रका बैंकका अधिकांश शाखाहरू पूर्ण वा आंशिक रूपमा बन्द रहे।
हप्तामा पाँच दिन काम गर्ने व्यवस्था लागू गर्ने, कार्य सम्पादनमा आधारित पारिश्रमिक निर्धारण गरिनुपर्ने र अन्य बाँकी मुद्दाहरूको माग गर्दै गरिएको देशव्यापी बैंक हडतालका कारण शुक्रबार मध्य प्रदेशमा करिब ७ हजार शाखाहरूको कामकाज ठप्प रहेको थियो, जसले गर्दा करिब ५,५०० करोड भारतीय रुपैयाँ बराबरको दैनिक कारोबार प्रभावित भएको बैंक कर्मचारी संगठनले जनाएको छ।
भारतमा शुक्रबार देखि शुरू भएको यो हड्तालको प्रभाव सार्वजनिक बिदाका कारण लगातार पाँच दिनसम्म सर्वसाधारणले व्यहोर्नुपर्ने भएको छ। केही प्रदेशहरूमा गणेश चतुर्थीका कारण सोमबार र मंगलबार पनि बैंकिङ सेवा ठप्प हुने भएको छ।
यूनियनले केन्द्र सरकारले आफ्ना माग पुरा नगरेमा आगामी सेप्टेम्बर २८ देखि ३० तारेखसम्म बैंकिङ सेवा ठप्प पार्ने र २६ अक्टुबरदेखि अनिश्चितकालीन हड्तालमा उत्रिने चेतावनी दिएको छ।












