जसरी बैंकमा पैसा जम्मा गर्दा बचतबापत ब्याज आर्जन हुन्छ, त्यसरी नै बचतसहितको जीवन बीमामा पनि बोनस प्रदान गरिन्छ। तर, बैंकमा दिइने ब्याज र बीमाको बोनसमा भिन्नता हुन्छ।
पहिलो भिन्नता भनेको बैंकको ब्याज पूर्वनिर्धारित हुन्छ। जुन बजारको तरलतामा निर्भर हुन्छ तर जीवन बीमाको बोनसदर जीवन बीमा कम्पनीले आर्जन गर्ने मुनाफामा निर्भर हुन्छ। त्यसैले बचतसहितको बीमालाई मुनाफामा सरिक हुने बीमा योजनाको प्रकारका रुपमा पनि परिभाषित गरिन्छ।
जीवन बीमा कम्पनीले वार्षिक रुपमा जीवन बीमा कोषअन्तर्गत नाफाको कम्तीमा ९० प्रतिशत रकम बीमितको बोनसका लागि घोषणा गर्नुपर्ने हुन्छ। वार्षिक मुनाफाअनुसार बोनस घोषणा हुने भएकोले बोनसदर बीमा गर्ने समयमै निश्चित हुँदैनर बोनसदर वार्षिक रुपमा घटबढ पनि हुन सक्छ। एकदमै प्रतिकूल अवस्था वा नियमनमा ठूलो परिवर्तन नआएसम्म बोनसदर स्थिर नै रहन्छ।
दोस्रो भिन्नता चाहिँ बोनस घोषणा हुने आधार मूल्य हो। बैंकको ब्याज जम्मा गरिएको रकममा प्रदान गरिन्छ भने जीवन बीमाको बोनस बीमा शुल्कमा नभई बीमांक रकममा प्रदान गरिन्छ। जस्तै बैंकमा वार्षिक १ लाख जम्मा गर्दा १ लाखको ब्याज गणना हुन्छ भने बीमामा १५ लाखको बीमांकको १ लाख बीमाशुल्क छ भने १ लाख बीमाशुल्कमा नभई १५ लाख बीमांकमा बोनस गणना हुन्छ। कतिपय अवस्थामा त यही कुराको बढावा दिइँदै बीमाले बैंकको भन्दा बढी प्रतिफल दिन्छ भनेर प्रचारसम्म गरिएको पाइन्छ।
साँच्चै बैंकको भन्दा बढी मुनाफा पाइन्छ त ?
जीवन बीमाको प्रमुख लगानीको क्षेत्र मुद्दति निक्षेप नै हो। सहज तरिकाले बुझ्ने हो भने बीमा कम्पनीले बीमितबाट पैसा जम्मा गर्छ अनि बैंकको मुद्दति निक्षेपमा लगानी गर्छन्। जसअन्तर्गत बैंकले ब्याज दिन्छ। जुन बीमित र बीमा कम्पनी बीच बाँडिन्छ। यसरी बैंकबाट प्राप्त प्रतिफलको हिस्सा बैंकको पूरै प्रतिफलभन्दा बढी हुन्छ भनेर बुझाउनु सरासर गलत हो। अझ बीमामा जोखिम बहनका लागि छुट्टै खर्च हुने अनि बीमा अभिकर्ता कमिसन र प्रोत्साहनलगायत ब्यवस्थापन खर्च उच्च हुने हुँदा यी खर्च कटाएर बैंकको ब्याजभन्दा बढी प्रतिफल जीवन बीमामा हुने अवस्था नै रहँदैन।
बैंकले जम्मा गरेको पैसामा मात्र ब्याज दिन्छ भनिरहँदा के कुरा भुल्न हुन्न भने बैंकको ब्याज त्रैमासिक रुपमा प्राप्त हुन्छ तर जीवन बीमामा बोनस बीमा अवधिको अन्त्यमा मात्र एकमुष्ठ पाइन्छ। त्यसैले जीवन बीमालाई तुलना नै गर्ने हो भने मुद्दति निक्षेपभन्दा पनि ब्याज झिक्न नमिल्ने अझ वार्षिक वा मासिक रुपियाँ जम्मा गर्ने अनि अवधिको अन्त्यमा एकमुस्ठ रकम प्राप्त हुने क्रमिक निक्षेप (रिकरिङ डिपोजिट)सँग तुलना गर्नु उचित हुन्छ।
उदाहरणका लागि कुनै व्यक्तिले १५ लाख बीमांकको १५ वर्षे जीवन बीमा गर्छ भने उसको वार्षिक बीमा शुल्क १ लाख जति हुन जान्छ। जसको बोनस आजको अवस्थामा ६० प्रतिहजार अर्थात ६ प्रतिशत हुन जान्छ। ६ प्रतिशत वार्षिक बोनसले वर्षको ९० हजारको दरले १५ वर्षमा १३ लाख ५० हजार गरी जम्मा २८ लाख ५० हजार प्राप्त हुन्छ। यो भनेको बीमांक रकममा ६ प्रतिशत त हो। तर, बीमाशुल्कका आधार मानेर हेर्दा ८ प्रतिशतभन्दा कम हो अर्थात् बैंकको क्रमिक निक्षेपमा ८ प्रतिशत ब्याजमा वार्षिक १ लाख जम्मा गर्ने हो भने झन्डै ३० लाख हुन्छ। अहिले ब्याज घटेको अवस्थामा त ८ प्रतिशत धेरै लाग्ला। तर, केही महिना अघिसम्म ब्याज १० प्रतिशतभन्दा बढी कायम थियो। जसअन्तर्गत यो रकम ३६ लाखभन्दा बढी हुन जान्छ।
बीमाको बोनसमा घट्दो ब्याजको प्रभाव
उन्नत अर्थतन्त्रमा बैंकको ब्याजदर स्थिर हुन्छ र सानो हेरफेरले नि ठूलो प्रभाव पार्छ। तर, नेपालको हकमा भने ब्याजदर निकै अस्थिर रहने गरेको पाइन्छ। अघिल्लो आर्थिक वर्षमा बैंकले निक्षेपमा १३ प्रतिशतभन्दा बढी ब्याजदर घोषणा गर्दा यो वर्ष ३ प्रतिशत ब्याज कायम भएको छ। जीवन बीमा कम्पनीको मुख्य लगानीको स्रोत नै बैंकको निक्षेप हुने हुँदा यसको प्रत्यक्ष असर बीमाको बोनसमा पनि पर्न जान्छ। तर, के बैंकको ब्याजदार घटे जसरी नै बीमाको बोनस पनि घट्छ त ?
बैंकको ब्याज ओरालो लाग्दा बीमाको बोनस भने त्यही गतिमा ओरालो नलाग्ने दुई कारण छ। पहिलो कारण भनेको जीवन बीमाको अवधि हो। जीवन बीमा लामो अवधिको करार हुने भएकोले बीमा कम्पनीहरुले बीमितबाट प्राप्त गर्ने रकम लामो अवधिका लागि मुद्दति निक्षेपमा राख्न सक्छन्। जस्तै– अघिल्लो वर्ष धेरै ब्याजदर हुँदा जीवन बीमा कम्पनीले सोही ब्याजदारमा लामो अवधिका लागि निक्षेपमा लगानी गरिसकेको हुन्छन्। जसका कारण अहिलेको ब्याजदार कम भए पनि उनीहरुको १०–१५ वर्ष अवधिका लागि अघिल्लो वर्षकै धेरै ब्याजदारमा लगानी लक भइसकेको हुन्छ।
अर्को कारण भनेको चाहिँ लगानीको पुलिङ हो। जसरी बीमाको मुख्य सिद्धान्त बीमितको जोखिमको पुलिङ हो। त्यसरी नै बचतको पनि पुलिङ भएको हुन्छ। उदाहरणका लागि बैंकको ब्याज १३ प्रतिशत हुँदा बीमा गर्न आउने बीमित होस् या बैंकको ब्याज ३ प्रतिशत हुँदा बीमा गर्न आउने बीमित होस एकै बीमा योजनामा दुवैले पाउने बोनस दर एउटै हुन्छ। तसर्थ, यी दुई कारणले गर्दा तत्कालका लागि बैंकको ब्याजदरको गिरावटले गर्दा जीवन बीमाको बोनसमा ठूलो फेरबदल आउने अवस्था रहँदैन। तर, यही अवस्था लम्बिरहने हो भने चाहिँ जीवन बीमाको बोनसमा पनि उल्लेखनीय गिरावट आउने निश्चितप्रायः छ।
अबको बाटोः बचतरहितको जीवन बीमा र अन्यत्र लगानी
जीवन बीमामा बचतसहितको बीमाभन्दा पनि जोखिममात्र बहन हुने बीमा योजना बीमा कम्पनी र बीमित दुवैका लागि फाइदाजनक देखिन्छ। बीमितका दृष्टिकोणबाट हेर्ने हो भने बचतसहितको बीमामा आफूलाई आवश्यकभन्दा निकै कम बीमांकको बीमा गर्नुपर्ने बाध्यता त रहन्छ नै बचतको हिस्साबाट आउने प्रतिफल पनि निकै कम हुन जान्छ। यस्तो अवस्थामा न त जोखिम नै राम्ररी बहन हुन्छ न त लगानीमा राम्रो प्रतिफल नै प्राप्त हुन्छ। तसर्थ, आफूलाई आवश्यक पर्ने बीमांकको थोरै बीमाशुल्कको म्यादी जीवन बीमा गरी बाँकी रकम अन्यत्र लगानी गर्दा आवश्यकताअनुसारको जोखिम बहन पनि हुन्छ र राम्रो प्रतिफल पनि प्राप्त हुन्छ।
यसैगरी जीवन बीमा कम्पनीको दृष्टिकोणबाट हेर्दा पनि बचतसहितको बीमा योजनाभन्दा जोखिममात्र बहन गर्ने बीमा योजना दीर्घकालीन रुपमा उचित देखिन्छ। बीमा कम्पनीले बचतसहितको बीमा योजना जारी गरेर अर्बौं भित्र्याउँदा पनि त्यसको तुलनामा मुनाफा निकै कम आर्जन गरिरहेका छन्। बचतसहितको बीमा योजनामा मुनाफाको ९० प्रतिशत बीमितलाई दिनुपर्ने, घोषणा भइरहेको बोनस दरमा घटउँदा बजारमा नकरात्मक असर पर्ने, बलजफत गरेर जारी गरेको बीमालेख भटाभट समर्पण हुने र त्यसमाथि बैंकको ब्याजदारमा निकै अस्थिर रहनेजस्ता कारणले गर्दा बचतसहितको बीमा योजनाहरुबाट बीमा कम्पनीहरुले सोचेअनुरुप प्रतिफल प्राप्त गर्न त सकिरहेका छैनन् नै बीमा उद्योग नै धरासायी बन्न पुगेको छ। यस्तो परिस्थितिमा बीमा कम्पनीहरुले बचतरहित जीवन बीमाको विकल्पतर्फ सोच्न आवश्यक छ।