काठमाडौं । हिमालयन पावर पार्टनरको हकप्रद शेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत वैशाख १७ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो। शेयरधनीहरुले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।
कम्पनीले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ प्रतिशतले हकप्रद निष्कासन गरेको छ। जसअनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ।
हकप्रद शेयर निष्कासनार्थ कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। यसको अर्थ चैत १० गतेभन्दा अघिसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।
शेयरधनीहरुले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकको बेसीसहर, दोर्दी, भोटेओडार र उदिपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।












