काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म बैंकहरुबाट थप साढे २८ अर्ब रुपैयाँ शेयर बजारमा भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार बैंकहरुबाट १ खर्ब १८ अर्ब ५० करोड ११ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु आर्थिक वर्षको ७ महिनामा बैंकहरुबाट थप २८ अर्ब ४० करोड ७८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। असारको तुलनामा फागुनसम्म ३१.५ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।
फागुनसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ७९ अर्ब १२ करोड ९४ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ४१.५ प्रतिशतले बढेको छ।
यसैगरी फागुनसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ७७ करोड ८२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १४ करोड ४३ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।
गत असारको तुलनामा फागुनसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १८.९ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ११.४ प्रतिशतले बढेको छ।