काठमाडौं । पछिल्ला वर्षमा निरन्तर कमजोर वित्तीय विवरण सार्वजनिक गरे पनि एनआईसी एसिया बैंकका ग्राहक आत्तिन थालेका छन्। उनीहरुले बैंकमा दुःख-सुख गरेर बैंकमा राखेको निक्षेप नै डुब्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका हुन्।
सामाजिक सञ्जालदेखि बैंकिङ क्षेत्रका जानकारहरुलाई समेत ग्राहकले एनआईसी एसिया कमजोर बन्दै गएमा हामीले निक्षेप के गर्ने ? भन्ने प्रश्न तेस्र्याउन थालेका छन्। पछिल्ला केही वर्षयता बैंकिङ अभ्यासमा एनआईसी एसिया बैंक असफल भएपछि ग्राहक आजित भएका छन्। केही महिनाअघि मात्रै राष्ट्र बैंकले टेकओभर गरेको कर्णाली विकास बैंकमा जस्तै यो बैंकमा पनि सोही अवस्था आउन सक्ने भएकाले उनीहरु आत्तिएका हुन्।
एनआईसी एसिया बैंक कमजोर बन्दै गएको उसले सार्वजनिक गरेको वित्तीय विवरणबाट पुष्टि हुन्छ। गत आर्थिक वर्ष २०८१।८२ मा एनआईसी एसिया बैंकको नाफामा अत्याधिक धेरै गिरावट आएको छ। बैंकको नाफा ७६.९७ प्रतिशतले खुम्चिएर १६ करोड १५ लाखमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकले खुद नाफा ७० करोड १४ लाख रुपैयाँ कमाएको थियो। अधिकांश बैंकको नाफा बढ्दा बैंकको भने नाफामा एकदमै धेरै गिरावट आएको हो।
विगतमा मनलाग्दी दिएको कर्जा अहिले असुली गर्न नसक्दा एनआईसी एसिया बैंक संकटको डिलमा पुगेको हो। कर्जा नोक्सानीबापतको प्रोभिजन अधिकांश बैंकले घटाउँदा बैंकको भने बढ्न पुगेको छ। एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपानेका कारण बैंक संकटमा पुगेको बैंकभित्रबाटै सुनिन थालेको छ।
सीईओ न्यौपानेले विगतमा मनलाग्दी तरिकाले ऋण दिलाएकाहरुबाट ऋण असुली हुन सकेको छैन। यसबाहेक अन्य व्यवस्थापकीय समस्याका कारण पनि बैंकलाई संकट पर्न थालेको बैंककै कर्मचारीहरुको आरोप छ।
बैंकको ऋण असुली प्रभावित भई बढेको खराब कर्जा ‘प्रोभिजनिङ’ थपिँदा नाफा प्रभावित भएको हो। गत वर्ष बैंकले ४ अर्ब १४ प्रोभिजनिङ गरेको छ। अघिल्लो वर्ष बैंकले प्रोभिजनिङ ३ अर्ब ६८ लाख रुपैयाँ थियो।
नागरिकबाट रकम लिएर चलाउने बैंकले कर्जा नोक्सानीमा नै थुप्रो रकम खर्चनु राम्रो होइन। तर, एनआईसी एसिया बैंक पछिल्लोपटक आफ्नै विगतका गल्तीहरुको भूमरीमा पर्दै आइरहेको छ। अहिले पनि बैंकले सुध्रनका लागि कुनै पहल नचालेको विश्वस्त स्रोत बताउँछ।
राष्ट्र बैंक पनि एनआईसी एसिया बैंकको दूरावस्थामा मौन बसिरहेको छ। राजनीतिक रुपमा सेटिङ मिलाएका कारण पनि एनआईसी एसिया बैंकलाई राष्ट्र बैंकले केही गर्न नसकेको स्रोतको दाबी छ। बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले बैंकको अवस्था निकै खराब देखाएको छ। यद्यपि यसमा पनि केही ‘मिसम्याच’ गरेर वित्तीय विवरण प्रकाशित गरिएको आशंका छ।
बैंकको खराब कर्जा भने २.८३ प्रतिशतले बढेर ६.२८ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष ३.४५ प्रतिशत रहेको खराब कर्जा बढेर ६.२८ प्रतिशत पुगेको हो।
यस्तै बैंकको ब्याज आम्दानी ४.४६ प्रतिशतले घटेर १० अर्ब २५ करोडमा सीमित भएको छ।
गत वर्ष बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ ऋणात्मक छ। अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ६६ करोड रुपैयाँले ऋणात्मक थियो। यससँगै यसपटक पनि बैंकका शेयरधनीले लाभांश नपाउने भएका छन्। बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.०८ रुपैयाँ र नेटवर्थ १२७.३० रुपैयाँ छ।
नेपालको बैंकिङ क्षेत्रमा पछिल्ला वर्षमा सबैभन्दा बढी विवादमा आएको वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंक अग्रपंक्तिमा छ। राष्ट्र बैंकको ‘एकीकृत निर्देशन, २०७४’ को बारम्बार उल्लंघन, पारदर्शीता अभाव, ग्राहकसँग असमान व्यवहार र आन्तरिक शासन प्रणालीको कमजोरीका कारण यो बैंक नियामकीय नजरमा पटक-पटक परेको छ। तर, बिडम्बना नियामकको चेतावनी र कारबाहीको असर बैंकको व्यवहारमा देखिएको छैन। यस बैंकको अवस्था हेर्दा कर्णाली विकास बैंककै बाटोमा लागेको स्पष्ट देख्न सकिन्छ।

















