काठमाडौं । उपभोक्ता अदालतले एक महिनाको अवधिभित्र तीनवटा ठूला अस्पताल र संलग्न चिकित्कलाई उपचारमा लापरवाहीको मुद्दामा कुल २ करोड ५९ लाख रूपैयाँ क्षतिपूर्ती तिराउने फैसला गरेको छ।
अदालतले कान्तिपथस्थित ग्राण्डी सिटी, चाबहिलको ओम अस्पताल र हिमाल अस्पताल डिल्लीबजार विरूद्ध जरिवाना सहितको कारवाहीको फैसला गरेको हो।
असार १३ गतेको फैसलामा ग्राण्डी सिटी अस्पताललाई उपचारमा लापरवाहीको मुद्दामा अदालतले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । त्यसअघि अदालतले हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ र ओम अस्पताल र चिकित्सकलाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो।
उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत उपचारमा लापरवाहीविरूद्ध पीडित पक्षले उपभोक्ता अदालतमार्फत क्षतिपूर्ती र कानूनी सजायको माग गर्न सक्ने सुविधा छ।
प्रकरण १ः
हरिहर प्रसाद गौतमको उपचारमा लापरवाही गरेको भन्दै छोरा बसन्त गौतमले दायर गरेको मुद्दामा अदालतले ओम अस्पताल र चिकित्सकबाट ५६ लाख ८१ हजार रूपैयाँ क्षतिपूर्ती दिलाउन जेठ २८ गते फैसला गरेको थियो। उपभोक्ता अदालतको राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेल सदस्य रहेको इजलासले जेठ २९ गते यो फैसला गरेको हो। अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।
बसन्त गौतमले आफ्नो बुवा उपचारमा लापरवाही भएको दाबी सहित ५ करोड रूपैयाँ क्षतिपूर्तिको माग सहित उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए। ९८ व वर्षिय हरिहर प्रसाद बाथरूमा लडेर घाइते भएपछि २०८१ माघ ५ मा ओम अस्पतालमा उपचारका लागि आकस्मिक कक्षमा भर्ना भएका थिए । इमरजेन्सीमा कार्यरत चिकित्सकले सामान्य चेकजाँच पश्चात एक्सरे दुःखाई कम हुने सुई दिएर केही औषधि लेखि डिस्चार्ज गरेका थिए।
डिस्चार्ज गरेको ४ दिन पश्चात समेत दुःखाई कम नभएपछि अर्को अस्पतालमा उपचारका लागि लैजाँदा खुट्टा फ्याक्चर भएको देखिएको बताइएको छ। सही उपचार नगरी लापरवाही गर्दा अन्य स्वास्थ्य जोखिम उत्पन्न भएर पिताको ज्यान गएको भन्दै बसन्त गाैतमले क्षतिपूर्तिको माग सहित मुद्दा दायर गरेका थिए।
प्रकरण २ः
अर्को प्रकरणमा उपचारमा लापरवाहीका कारण बिरामी शिशुको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला। असार १२ गते रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला गरेको हो।
यो रकममध्ये अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र चिकित्सकले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको हो।
२०७९ माघ २३ गते गंगा गौतमले आफ्नो २८ महिनाकी छोरी प्रशंसालाई हिमाल अस्पतलामा उपचारका लागि भर्ना गर्दा उपचारमा लापरवाहीका कारण शिशुको ज्यान गएको भन्दै अभिभावकले नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका थिए। काउन्सिलले उपचारमा संलग्न चिकित्सकको लापरवाही ठहर्याउँदै चेतावनी दिने निर्णय गरेको थियो। बालरोग विशेषज्ञ डा. जयदेव यादवलाई स्तरीय उपचार विधि प्रयोग गर्न तथा प्रेषण गर्दा उचित सावधानी अपनाउन चेतावनी दिने निर्णय गरेको थियो।
काउन्सिलले चेतावनी मात्रै दिने निर्णय गरेपछि बालिकाको अभिभावकले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा गत चैतमा उपभोक्ता अदालतमा सरेको थियो।
प्रकरण ३ः
अर्को एक मुद्दाको सुनुवाइ गर्दै असार १३ गते उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आन्नदराज पोखरेलको इजलासले ग्राण्डी सिटी अस्पताल र उपचारमा संलग्न चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
वर्षा भण्डारीले आफ्नो उपचारमा लापरवाही भएको दाबी गर्दै ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी सहित गत चैत ११ गते मुद्दा दर्ता गरेकी थिइन्। अदालतले लापरवाहीको तुलनात्मक दायीत्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।
अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा. संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्नेछ।
खुट्टाको तिघ्राको पछाडिको भागले दुःख दिएपछि वर्षा को खुट्टामा रहेको बोसो निकालेर प्लाष्टिक सर्जरी गरिएको थियो। वर्षाले दायर गरेको मुद्दा अनुसार चिकित्सकले दुईपटक शल्कृया गरेपनि निको हुनुको साटो झन् संक्रमण भएर थप पीडा बढेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी थिइन्।
उपभोक्ता अदालतको फैसलामा चित्त नबुझे अस्पताल, चिकित्सक वा स्वयम् पीडित निवदेकले समेत उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दर्ता गराउन सक्छन् ।

















