काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा ८ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका छन्।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो वर्ष २०८१।८२ को साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ४.२३ प्रतिशतले बढेको छ।
तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कृषि विकास बैंक अग्रस्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ७ वटाको घटेको छ।
समीक्षा अवधिमा नबिल बैंकले ८८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ७१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा २३.२८ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। समीक्षा अवधिमा बैंकले ८१ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३.७० प्रतिशतले घटेको छ।
तेस्रो धेरै नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। बैंकले समीक्षा अवधिमा ७३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ६३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १५.८० प्रतिशतले बढेको छ।
त्यस्तै समीक्षा अवधिमा कुमारी बैंकले ५४ करोड ७० लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा कुमारी बैंकले ४९ करोड २४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा कुमारी बैंकको नाफा ११.१० प्रतिशतले बढ्दा राष्ट्रिय वाणिज्य बैंकको ६.१५ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ। यो बैंकले १७ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
वृद्धिदरका हिसाबले कृषि विकास बैंकको नाफा १०२५४.४० प्रतिशतले बढेको छ। यो बैंकले साउनमा ३८ करोड ८२ लाख रुपैयाँ कमाएको छ।
कुन बैंकले कति कमाए नाफा ?













