काठमाडौं । सुक्खा र बढ्दो तापक्रमले गर्दा नेपालको वनजंगलमा फैलिएको आगो केही दिनयताको वर्षाले क्रमशः नियन्त्रण हुँदै गएको छ। वन डढेलो पत्ता लगाउने र अनुगमन गर्ने प्रणाली (एफएफडीएमएस)को तथ्यांकअनुसार यस वर्ष जनवरी–फेब्रुअरीमा नै ३०० भन्दा बढी डढेलोका घटना दर्ता भइसकेको छ। नेपालमा खासगरी मार्च–मे महिना आगलागीको मौसम हो।
जलवायु परिवर्तनको प्रभावका कारण नेपाल पछिल्लो समयमा बेमौसमी वर्षा, अनावृष्टि र अतिवृष्टिको जोखिममा पर्दै गएको छ। मौसमअनुसारको वर्षा नहुँदा खेतीमात्र प्रभावित नभएर सुक्खा माटोमा एक्कासि वर्षा हुँदा भीषण पहिरो जाने जोखिम बढ्दै गएको छ।
अर्कोतर्फ ढिलो गरी वर्षा सुरु हुँदा सुक्खा मौसममा वन–जंगलमा भीषण आगलागीका घटनासमेत झन् झन् बढ्दै गएको छ।
सुक्खाले बढाउँदै आगलागी
राष्ट्रिय कृषि सुक्खा खबरदारी (नेसनल एग्रो ड्रट वाच)ले पश्चिमी नेपालका धेरै जिल्लामा अझै पनि मध्यमदेखि गम्भीर सुक्खाको चेतावनी दिएको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरजस्ता जिल्लामा जनवरी र फेब्रुअरीमा वर्षा न्यून भएकोले वनस्पति सुकेर आगोका लागि इन्धन बनेको छ।
पर्यावरण विश्लेषक श्रवण श्रेष्ठ भन्छन्, ‘सुक्खा र वन डढेलोबीच सीधा सम्बन्ध छ। लामो समयसम्म पानी नपर्दा र तापक्रम बढ्दा डढेलो फैलिने जोखिम बढ्छ।’
डढेलोको भयावह वृद्धि
विगत १० वर्षमा नेपालमा वन डढेलोको घटना दोब्बर भएको छ। सन् २०२१ मा ६ हजारभन्दा बढी आगो लागेको थियो भने सन् २०२४ मा ५ हजार भन्दा बढी घटना दर्ता भएको थियो। बाँके, बर्दिया, सुर्खेतजस्ता जिल्लामा सन् २०१२ देखि अहिलेसम्म १ हजार ५०० भन्दा बढी पटक वनमा आगलागी भइसकेको छ। पहाडी जिल्लाहरु जस्तै– डडेलधुरा, डोटी र सल्यानमा पनि सुक्खा बढ्दै जाँदा आगलागीको खतरा बढेको छ।
स्वास्थ्य र वातावरणमा असर
वन डढेलोले ठूला सहरहरुको वायु गुणस्तर (एयर क्वालिटी इन्डेक्स) निकै खराब बनाएको छ। सन् २०२४ मा आगो र धुँवाले गर्दा कार्बन मोनोक्साइडको मात्रा खतरनाक स्तरमा पुगेको थियो। जसले मानिसहरुको फोक्सोमा असर गर्छ। यसले मात्र होइन माटोको क्षरण, पहिरोको जोखिम र नदीमा गाद जम्ने समस्या पनि बढाएको छ। सन् २०२५ को मार्च र अप्रिल महिनामा काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको छ। काठमाडौंबाहिरका पोखरा, दाङलगायतका सहरी क्षेत्रहरु पनि वायु प्रदूषणको उच्च चपेटामा परेका छन् ।
वन तथा भूसंरक्षण विभागले इसिमोडको सहयोगमा एफएफडीएमएस प्रणाली सञ्चालन गरेर डढेलो पत्ता लगाउने र चेतावनी दिने काम गरिरहेको छ। विभागका महानिर्देशक बद्रीराज ढुंगानाले आगो रोकथामका लागि प्रभावकारी कानुनी व्यवस्था सामुदायिक सहभागिता र आधुनिक उपकरण जुटाउन आग्रह गरेका छन्।
विशेषज्ञहरुले निम्न कदम चाल्न आग्रह गरेका छन्–
- आधुनिक उपकरण र प्रशिक्षणबाट आगो नियन्त्रण क्षमता बढाउन।
- आगो रोक्न फायरब्रेक र स्थायी वन व्यवस्थापन लागू गर्न।
- जनचेतना अभियान चलाएर आगोको जोखिमबारे जनतालाई जागरुक बनाउन।
- सामुदायिक सहभागितामा आधारित आगो व्यवस्थापन (सीबीएफआईएम) अपनाउन।
नेपालमा अहिले आगलागीको सबैभन्दा खतरनाक मौसम छ। यदि चाँडै उचित कदम चालिएन भने जंगली डढेलो आगो र यसले ल्याउने विनाशकारी परिणामहरु नियन्त्रण गर्न गाह्रो हुनेछ। – इसिमोडको प्रतिवेदनमा आधारित