काठमाडौं । कुनै समय चीनको अर्थतन्त्रको इन्जिन मानिने प्रपर्टी सेक्टर अहिले मन्दीको मारमा परेको छ। चीनमा घर बिक्रीमा उल्लेखनीय गिरावट आएको हो।
अक्टोबरमा घर बिक्री गत वर्षको तुलनामा ४२ प्रतिशतले घटेको छ। चीन सरकारले प्रपर्टी मार्केटलाई सहयोग गर्न कदम चालेको बाबजुद यो गिरावट आएको हो। यसको अर्थ सरकारी सहयोगले पनि प्रपर्टी मार्केटलाई सहयोग गर्न असफल भएको छ।
चाइना रियल इस्टेट इन्फर्मेसन कर्पोरेसनको तथ्यांकअनुसार अक्टोबरमा १०० ठूला प्रपटी कम्पनीले नयाँ आवास बिक्री कुल ३५.६ अर्ब डलर पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ४१.९ प्रतिशतले कमी हो। गत महिना बिक्री थोरै स्थिर भएको थियो। तर, अहिले फेरि घटेको छ।
रोजगारी गुमाउने प्रभाव
ब्लुमबर्गका अनुसार चीनको प्रपर्टी मार्केट ४ वर्षभन्दा बढी समयदेखि कठिनाइहरुको सामना गरिरहेको छ। दोस्रो त्रैमासिकदेखि बिक्री निरन्तर घटिरहेको छ। प्रमुख सहरहरुमा केही घर खरिद नियमहरु खुकुलो पारिए पनि यसले तुरुन्तै जनताको विश्वास बढाएको छैन। यसको एउटा कारण चीनमा कमजोर हुँदै गएको रोजगार बजार हो। जसले मानिसलाई घर किन्न निरुत्साहित गरिरहेको छ।
डेभलपर्सलाई ऋण तिर्न कठिनाइ
सेप्टेम्बर र अक्टोबर सामान्यतया प्रपर्टी खरिदका लागि उत्तम महिना हुन्। यद्यपि, सन् २०२१ मा सुरु भएको मन्दी जारी छ। धेरै प्रपर्टी डेभलपर्सलाई आफ्नो ऋण तिर्न वा पूर्वबिक्री गरिएका परियोजनाहरु पूरा गर्न कठिनाइ भइरहेको छ। यसले घर खरिददारहरुको विश्वासलाई अझ कमजोर बनाइरहेको छ।
सरकारी प्रयास कति ?
प्रपर्टी मार्केटलाई बढावा दिन चिनियाँ सरकारले घर ऋण ब्याजदर घटाउने, घर खरिद नियमहरु सहज बनाउने र सहरी गाउँहरुको पुनर्विकास गर्नेजस्ता धेरै प्रयासहरु गरेको छ। यद्यपि, यी उपायले कुनै देखिने प्रभाव पारेको छैन।
रोयटर्सका अनुसार सेन्टलाइन प्रोपर्टी एजेन्सीका प्रमुख विश्लेषक झाङ दावेईले सरकारले चौथो त्रैमासिकमा माग बढाउन थप कदम चाल्न सक्ने बताएका छन्। जस्तै घर ऋण ब्याज दर घटाउने र व्यक्तिगत आयकर छुट बढाउन सक्छ।
यसैबीच नोमुरा विश्लेषकहरुले हालै भनेका छन् कि चिनियाँ सरकारले २०२६–२०३० का लागि आफ्नो आगामी पाँचवर्षीय योजनामा प्रपर्टी मार्केटमा मन्दीको प्रभावलाई अझ गम्भीरतापूर्वक सम्बोधन गर्न आवश्यक हुनेछ। घर खरिद अनुदान र कर कटौतीलाई प्रवर्द्धन गर्ने बारेमा पनि छलफल भइरहेको छ।
बढ्यो सरकारी सहयोगको माग
प्रपर्टी मार्केटमा आएको गिरावटले थप सरकारी सहयोगको मागलाई बढावा दिइरहेको छ। फिचकी निर्देशक लुलु शीका अनुसार चीनमा नयाँ घरको बिक्री क्षेत्रफलका आधारमा थप १५ प्रतिशतले घट्न सक्छ। उनले भनिन्, ‘बिक्री मूल्य अर्को वर्ष थप ७ प्रतिशतदेखि १० प्रतिशतले घट्न सक्छ।’

















