काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया विवादास्पद बनेपछि विजयनाथ भट्टराईले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन्।
सरकारले राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ। सोही समितिका पूर्वगर्भनर भट्टराई सदस्य थिए।
भट्टराईले आफूले अर्थमन्त्री पौडेललाई समितिबाट राजीनामा दिएको जानकारी गराएको बताएका छन्। समिति गठन भएको महिना दिन बित्दा पनि एकपटक पनि बैठक बस्न नसकेको उनको भनाइ छ।
सरकारले सार्वजनिक निकायमा नियुक्त गर्न कार्यविधिमा संशोधन गरेर उमेर हद हटाएको थियो। त्यसपछि उक्त संशोधन कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले आदेश दिइसकेको छ।
यसैगरी सत्ता साझेदार कांग्रेस र एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। सोहीबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई बोलाएर गभर्नर नियुक्त गर्न लागेको र राम्ररी काम गरेर देखाउनु भनेको खबर सञ्चार माध्यमबाट आएको थियो।
त्यसलगत्तै भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। यद्यपि, गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। रिट आज तेस्रो दिन पनि हेर्न नभ्याइनेमा राखिएको छ।
यसरी गभर्नर नियुक्ति प्रक्रिया विवादास्पद बन्नु र सिफारिस समिति एकपटक पनि गभर्नर नियुक्तिका विषयमा छलफल नभएपछि भट्टराईले समितिबाट राजीनामा दिएको बुझिएको छ।
राष्ट्र बैंक ऐनअनुसार केन्द्रीय बैंकमा गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्त गरिसक्नुपर्ने प्रावधान छ। गभर्नरबाट महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गते सकिएको थियो। तर, सरकारले अझै पनि गभर्नर नियुक्त गर्न सकेको छैन।

















