काठमाडौं । फेसबुक पेजमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रत्यक्ष प्रसारण (लाइभ टीभी) मै हातहालहाल र भिडन्त भएको जस्तो देखिने कृत्रिम (एआई निर्मित) फोटो प्रयोग गरी ठगी धन्दा चलाइएको पाइएको छ।
फेसबुक प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण हात पार्ने, मोबाइल वा कम्प्युटर ह्याक गर्ने र बैंक खाताको रकम रित्याउने नियतका साथ अन्तर्राष्ट्रिय साइबर अपराधीहरूको समूहले यो प्रायोजित विज्ञापन फैलाइरहेको पाइएको हो।
फेसबुक फिडमा देखिने उक्त विज्ञापनमा ओली र लामिछाने लाइभ टीभी कार्यक्रममै झगडा गरिरहेको र उनीहरूलाइ सुरक्षाकर्मीले समातेर रोकिरहेकोजस्तो देखिने नक्कली दृश्य राखिएको छ।
विज्ञापनमा लाइभ प्रसारण योजना अनुसार चलेन, केपी शर्मा ओली र रवि लामिछानेबीच दर्शकबाट लुकाउन नसकिने विवाद भयो जस्ता भ्रामक शीर्षक राखिएका छन्।
विज्ञापनको तल्लो भागमा अङ्ग्रेजी दैनिक पत्रिका दि हिमालयन टाइम्स को आधिकारिक वेबसाइटको नाम र लोगो देखाइएको छ, जसले गर्दा प्रयोगकर्ताहरूलाई यो वास्तविक समाचार हो भन्ने भ्रम पर्छ।
यस प्रायोजित विज्ञापनको प्राविधिक र पृष्ठभूमि विश्लेषण गर्दा यो पूर्ण रूपमा योजनाबद्ध साइबर स्क्याम भएको पुष्टि हुन्छ । यो विज्ञापन ‘Schutte Luxury Lifestyle’ नामक फेसबुक पेजबाट स्पोन्सर गरिएको छ। उक्त पेजको विवरण हेर्दा कपडा तथा पर्फ्युम बिक्री गर्ने भारतीय कम्पनी पुणे, महाराष्ट्र को ठेगाना र फोन नम्बर राखिएको छ। मेटा फेसबुक को पेज ट्रान्सपरेन्सी विवरण केलाउँदा यो पेज सञ्चालन गर्ने मुख्य व्यक्ति युक्रेनमा रहेको देखिन्छ।
विज्ञापनमा ‘The Himalayan Times’ को नाम देखाइए पनि क्लिक गर्दा भने अर्कै शङ्कास्पद र नक्कली वेबसाइट nokshibd.com… खुल्छ। उक्त नक्कली वेबसाइटलाई दुरुस्तै मूल मिडियाको जस्तै ढाँचामा ढालेर यक्ष प्रश्न कार्यक्रममा विवाद भएको भन्दै झुटो समाचार छापिएको छ।
यस्ता शङ्कास्पद लिङ्कमा क्लिक गर्दा वा त्यहाँ मागिएका विवरण भर्दा प्रयोगकर्ताहरू गम्भीर वित्तीय र व्यक्तिगत जोखिममा पर्छन् । फिसिङ नक्कली वेबसाइटमा गएर प्रयोगकर्ताले आफ्नो नाम, फोन नम्बर, वा बैंकिङ विवरण राखेमा ती सबै विवरण साइबर अपराधीको हातमा पुग्छन्। लिङ्क खोल्नासाथ मोबाइल वा कम्प्युटरमा अदृश्य रूपमा भाइरसरमालवेयर डाउनलोड भई डिभाइस नै ह्याक हुन सक्छ। व्यक्तिगत वा बैंकिङ विवरण चोरी गरी बैंक खाताबाट रकम गायब पार्ने मुख्य उद्देश्य यस खेलको पछाडि रहेको देखिन्छ।
ठगिबाट जोगिने उपायः
विज्ञापनमा देखाइएको नाम र क्लिक गरेपछि ब्राउजरमा खुल्ने वेबसाइटको ठेगाना एउटै छ कि छैन ध्यान दिनुहोस्। प्रायोजित पोस्टमा सीधै विश्वास नगर्नुहोस् । स्थापित नेताहरू वा सेलिब्रेटीका यस्ता सनसनीपूर्ण फोटोरभिडियोहरू प्रायः एआईबाट बनाइएका हुन्छन्। ब्रान्ड वा मिडियाको नाममा आएका विज्ञापन कुन पेजबाट आएका हुन् र त्यसका कति फलोअर्स छन् भन्ने कुरा फेसबुक पेजमै देखिने ‘Page Transparency’ मा गएर हेर्न सकिन्छ। कुनै पनि शङ्कास्पद वेबसाइटमा आफ्ना बैंक खाता, ओटीपी, वा पासवर्ड जस्ता संवेदनशील जानकारी कहिल्यै प्रविष्ट नगर्नुहोस्। यस्ता भ्रामक र शङ्कास्पद विज्ञापन देखिनासाथ फेसबुकलाई ‘Report Ad’ गरी सुरक्षित रहन र अरूलाई पनि जोगाउन सहयोग गर्नुहोस्।












