काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।
विद्युन नियम आयोगले कम्पनी सञ्चालक समितिको यसअघिको बैठकले प्रस्ताव गरेको उक्त आर्थिक वर्षको मुनाफा र सञ्चितिबाट हाल कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांशमा संशोधन गर्दै घटाएको हो। अब कम्पनीले कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ नगद लाभांश छन्।
यो लाभांश अनुमोदन गर्न कम्पनीले यही पुस ३० गते २८ औँ वार्षिक साधारणसभा डाकेको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


















