काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म बैंकहरुबाट थप करिब २५ अर्ब रुपैयाँ शेयर बजारमा भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार बैंकहरुबाट १ खर्ब १५ अर्ब ११ करोड ३ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु आर्थिक वर्षको ७ महिनामा बैंकहरुबाट थप २५ अर्ब १ करोड ७१ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। असारको तुलनामा पुससम्म २७.७ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।
माघसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ७६ अर्ब ४० करोड १४ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ३६.६ प्रतिशतले बढेको छ।
यसैगरी माघसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब २५ करोड ३४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।
गत असारको तुलनामा माघसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १७ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १२.७ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८.२ प्रतिशतले बढेको छ।