काठमाडौं । नेपाल सरकारले केही नेपाल ऐन संशोधनको मस्याैदामा बीमा ऐन २०७९ को केही प्रावधानमा संशोधनको प्रस्ताव ल्याएसँगै बीमा कम्पनीका संस्थापक शेयरधनी र सञ्चालकहरूबीच तरङ्ग पैदा भएको छ।
अंशबण्डा भएको आधारमा एकाघर परिवारका सदस्यहरूले नै संस्थापक शेयरमध्ये ३० प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्दा संस्थागत सुशासनमा विचलन आएको निष्कर्ष सहित सरकारले संशोधनको तयारी गरेको हो। नेपालको बीमा बजारमा उल्लेख्य हिस्सा भएको देखि लिएर नगण्य हिस्सा भएको बीमा कम्पनी सम्ममा एकाघर परिवारका सदस्यहरूको उल्लेख्य शेयर स्वामित्व छ।
संशोधन मस्याैदामा वित्तीय स्वार्थको परिभाषालाई पनि अझै फराकिलो पारिएको छ। हालको कानूनमा सञ्चालक, आधारभूत शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा संगठित संस्थाले कुनै फर्म, कम्पनी वा संगठित संस्थाको चुक्ता पूँजीको १० प्रतिशत वा सो भन्दा बढी शेयर लिएको अवस्थामा वित्तीय स्वार्थ हुने परिभाषित गरिएको छ। संशोधन मस्याैदामा चाहिँ चुक्ता पूँजीको दश प्रतिशत वा सोभन्दा बढी हुने गरी छुट्टाछुट्टै वा संयुक्त रुपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरुको दश प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरुको स्वार्थ हुने परिभाषा गरिएको छ। यसबाहेक यस्तो स्वार्थलाई अझै परिभाषित गर्ने अधिकार नेपाल बीमा प्राधिकरणलाई समेत दिएको छ।
| दफा / खण्ड | मौजुदा व्यवस्था | प्रस्तावित संशोधन |
|---|---|---|
| दफा २ खण्ड (ग) (आधारभूत शेयरधनी) |
(ग) “आधारभूत शेयरधनी” भन्नाले बीमकको चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएको व्यक्ति, कम्पनी वा संस्था सम्झनु पर्छ र सो शब्दले एकाघरको परिवारको सदस्यले अलग अलग रुपमा एक प्रतिशत वा सोभन्दा बढी शेयरको स्वामित्व लिएको भए त्यस्तो एकाघरको परिवारलाई समेत जनाउँछ । | (ग) “आधारभूत शेयरधनी” भन्नाले बीमकको चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएको व्यक्ति, कम्पनी वा संस्था सम्झनु पर्छ र सो शब्दले एकाघरको परिवारको सदस्यले अलग अलग रुपमा लिएको शेयर जोड्दा एक प्रतिशत वा सोभन्दा बढी स्वामित्व हुने भएमा त्यस्तो एकाघरको परिवारलाई समेत जनाउँछ । |
| दफा २ खण्ड (स) (वित्तीय स्वार्थ) |
(स) “वित्तीय स्वार्थ” भन्नाले देहायका व्यक्ति, संस्था फर्म, कम्पनी वा सङ्गठित संस्थाको बीमकमा संलग्नता रहने अवस्था सम्झनु पर्छः- (१) सञ्चालक वा आधारभूत शेयरधनी वा कार्यकारी प्रमुख वा निजको एकाघरको परिवारको सदस्य, (२) सञ्चालक मनोनीत गर्ने अधिकार पाएको एकल वा संयुक्त फर्म, कम्पनी वा सङ्गठित संस्था, (३) उपखण्ड (२) बमोजिमको फर्म, कम्पनी वा सङ्गठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा निजको एकाघरको परिवारको सदस्य, वा (४) उपखण्ड (१) वा (२) बमोजिमको व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले कुनै अर्को एकल वा संयुक्त फर्म, कम्पनी वा सङ्गठित संस्थामा चुक्ता पूँजीको दश प्रतिशत वा सोभन्दा बढी शेयर लिएको रहेछ भने त्यस्तो शेयर लिएको फर्म, कम्पनी वा सङ्गठित संस्था। |
(स) “वित्तीय स्वार्थ” भन्नाले सञ्चालक, आधारभूत शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा संगठित संस्थाले कुनै फर्म, कम्पनी वा संगठित संस्थाको चुक्ता पूँजीको दश प्रतिशत वा सोभन्दा बढी हुने गरी छुट्टाछुट्टै वा संयुक्त रुपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरुको दश प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरुको स्वार्थ सम्झनु पर्छ र सो शब्दले प्राधिकरणले समय समयमा वित्तीय कारोवारको प्रकृति र अवस्था हेरी वित्तीय स्वार्थ भनी तोकिदिएको स्वार्थ समेतलाई जनाउँछ । |
हालको बीमा ऐनमा बीमकको चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएको व्यक्ति, कम्पनी वा संस्थालाई सम्झनु पर्छ र सो शब्दले एकाघरको परिवारको सदस्यले अलग अलग रुपमा एक प्रतिशत वा सोभन्दा बढी शेयरको स्वामित्व लिएको भए त्यस्तो एकाघरको परिवारलाई समेत जनाउँछ भन्ने व्यवस्था छ । संशोधन मस्याैदामा शब्दले एकाघरको परिवारको सदस्यले अलग अलग रुपमा लिएको शेयर जोड्दा एक प्रतिशत वा सोभन्दा बढी स्वामित्व हुने भएमा त्यस्तो एकाघरको परिवारलाई समेत जनाउँछ भनेर परिभाषित गरिएको छ।
हालको व्यवस्थाले एकाघर परिवारका सदस्यले एउटै बीमकको बेग्ला बेग्लै १ प्रतिशतभन्दा थोरै शेयर स्वामित्व लिएकोमा आधारभूत शेयरधनीका रूपमा पहिचान गरेको छैन। नयाँ व्यवस्थाले बेग्लाबेग्लै खरिद गरेको शेयरको कुल १ प्रतिशत वा सो भन्दा बढी भएमा आधारभूत शेयरधनीका रूपमा परिभाषित गरेको छ। प्रस्तावित प्रावधानले अब १ प्रतिशत भन्दा थोरै शेयर स्वामित्व ग्रहण गरेर बीमकको वासलातमा प्रकाशन गरिने आधारभूत शेयरधनीको सूची छल्न खोज्ने एकाघर परिवारका सदस्यलाई कसिकसाउ गर्नेछ।
बीमा कम्पनीले परिचालन गर्ने सर्वसाधारणको बचत र पूँजीवापतको रकम १० खर्ब रूपैयाँ भन्दा बढी छ। यो रकमको सानो हिस्सा पनि आफ्नो स्वार्थमा दुरूपयोग गर्न पाउँदा ठूलो फाइदा हुने भएकाले पछिल्लो समयमा बीमा कम्पनीको सञ्चालक समिति वा संस्थापक शेयर स्वामित्वमा कब्जा जमाउने प्रवृत्ती केहि कम्पनीहरूमा देखिएको छ। बीमकको लगानी विविधिकरणको बहानामा बीमा कोषको रकम बीमा कम्पनीभन्दा बाहिर पुर्याउने र त्यहाँबाट आफ्नो स्वार्थ अनुकुल दुरूपयोग गर्ने प्रवृत्तीमा नेपाल बीमा प्राधिकरणले अंकुश लगाउन नसक्दा यस्तो प्रवृत्ती माैलाएको हो । हालै मात्र हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र लघु बीमा कम्पनीहरूमा देखिएको संस्थागत विसंगतीले प्राधिकरणको अकर्मण्यता उजागरण गरिदिएको छ।











