काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह २.८१ प्रतिशतले वृद्धि भएको छ।
सार्वजनिक तथ्यांकअनुसार गत असार मसान्तसम्ममा ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको २० वटा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी कात्तिक मसान्तसम्म आइपुग्दा ५४ खर्ब ३८ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो। यस ४ महिनाको अवधिमा बैंकहरुको कर्जा लगानी १ खर्ब ४८ अर्ब ७१ करोड रुपैयाँले विस्तार भएको देखिन्छ।
वृद्धिदरमा ग्लोबल आइएमई र कुमारी अगाडि
कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार कर्जा विस्तारको प्रतिशतका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। असार मसान्तमा ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको ग्लोबल आइएमईले कात्तिकसम्म ६.४४ प्रतिशतले बढाएर ५ खर्ब ७ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ। कुल कर्जा रकमका आधारमा पनि ग्लोबल आइएमई बैंक नै शीर्ष स्थानमा छ।
दोस्रो स्थानमा रहेको कुमारी बैंकले ६.२० प्रतिशतले कर्जा विस्तार गर्दै ३ खर्ब २१ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ। तेस्रो स्थानमा माछापुच्छ्रे बैंक रहेको छ। जसले ५.४२ प्रतिशतको वृद्धिसहित १ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
कुल कर्जा रकमको आकारका हिसाबले ग्लोबल आइएमई (५ खर्ब ७ अर्ब ५५ करोड) पछि नबिल बैंक दोस्रो ठूलो कर्जा प्रदायक बनेको छ। नबिल बैंकले ३.६० प्रतिशतको वृद्धिसहित ५ खर्ब ५ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
तेस्रोमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कर्जा ०.०२ प्रतिशतको वृद्धिसहित ३ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ रहेको छ।
दुई बैंकको कर्जा लगानी घट्यो
समीक्षा अवधिमा १८ वटा वाणिज्य बैंकको कर्जा विस्तार हुँदा २ वटा बैंकको कर्जा लगानी भने खुम्चिएको छ। एनआईसी एसिया बैंकको कर्जा २.४३ प्रतिशतले घटेर २ खर्ब ६ अर्ब रुपैयाँमा झरेको छ। असार मसान्तमा बैंकको कर्जा २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँ थियो।
त्यस्तै, प्रभु बैंकको कर्जा लगानी २.३४ प्रतिशतले घटेर २ खर्ब २६ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ।
तथ्यांक स्रोत: NBA DATA PORTAL











