काठमाडौं । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, बीमा कम्पनीहरुको लगानीको ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा देखिएको छ।
हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। बीमकहरुले मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंक र पूर्वाधार बैंकमा गरी कुल लगानीयोग्य रकमको ३० प्रतिशत, विकास बैंकमा १० प्रतिशत र फाइनान्स कम्पनीमा ५ प्रतिशत लगानी गर्न पाउने प्रावधान रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्म तथ्यांकले पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी सामान्य बढेको देखाएको छ।
समीक्षा अवधिसम्म बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ७९ अर्ब ५३ करोड ९ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्ममा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब ६५ अर्ब ५१ करोड ७८ लाख रुपैयाँ लगानी गरेका थिए। पछिल्लो ३ महिनाको अवधिमा बीमकहरुको लगानी २.१ प्रतिशतले बढेको हो।
चालु वर्षको असोजसम्म कर्मचारी सञ्चय कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ८१ अर्ब ३९ करोड २१ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष असार मसान्तसम्म कोषले २ खर्ब २३ अर्ब २६ करोड ६८ लाख रुपैयाँ लगानी गरेको थियो। पछिल्लो ३ महिनामा कोषको लगानी १८.८ प्रतिशतले घटेको छ।
उता नागरिक लगानी कोषले समीक्षा अवधिसम्म बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ५० अर्ब ३४ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कोषले १ खर्ब ५३ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ लगानी गरेको थियो। कोषको लगानी २.३ प्रतिशतले घटेको छ।
समीक्षा वर्षमा बैंकहरुमा सर्वसाधारणको ५६ खर्ब २४ अर्ब ५० करोड ७८ लाख रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकहरुमा सर्वसाधारणको ५३ खर्ब ४९ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ निक्षेप रहेको थियो। सर्वसाधारणको निक्षेप ५.१ प्रतिशतले बढेको छ।











