काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ९०औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भई सञ्चालनमा आएको बैंकले २०८३ कात्तिक ३० गते ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको हो।
बैंकको प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोह अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति सदस्य बद्री खनालले गरेका थिए।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले बैंकका तीन नयाँ डिजिटल सेवा फोन लोन , बाइ नाउ पे लेटर क्रेडिट कार्ड तथा अनलाइन लोन एप्लिकेसन पोर्टलको शुभारम्भ गरे।
सो अवसरमा उनले उत्पादनशील क्षेत्र कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा कर्जा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले संस्थागत सुशासन र वित्तीय अनुशासनमार्फत जनविश्वास कायम राख्दै व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्नेमा जोड दिए। साथै डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण, डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिन निर्देशन दिए।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्ने उनको भनाइ थियो।
बैंकका अनुसार हाल देशभर २३० शाखा, २५० एटीएम तथा ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरको बैंकिङ प्रविधिमार्फत सेवा प्रदान गर्दै आएको बैंकका करिब १६ लाख ग्राहक डिजिटल सेवाबाट लाभान्वित भएका छन्।
बैंकले समयानुकूल छिटोछरितो, गुणस्तरीय तथा गुनासोरहित ग्राहक सेवा प्रदान गर्न युवा तथा दक्ष जनशक्तिमार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ।
वार्षिकोत्सवका अवसरमा २५ वर्ष अटुट सेवा गरेका तीन जना र २० वर्ष अटुट सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा कदरस्वरूप पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै, प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखालाई पुरस्कृत गरिएको थियो।
प्राकृतिक विपत्तिको प्रतिकूल अवस्थामा पनि बैंकिङ सेवा सुचारु राखेका त्रिशूली र धुन्चे शाखालाई सम्मान गरिएको थियो। साथै, स्याफ्रुबेँसी एक्सटेन्सन काउन्टर (धुन्चे शाखा) मा विषम परिस्थितिमा समेत बैंकको सम्पत्ति साहसपूर्वक संरक्षण गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले उपस्थित सबैलाई स्वागत गरेका थिए। समारोहका अध्यक्ष खनालले बैंकमा कार्यरत कर्मचारीलाई आगामी दिनमा उच्च मनोबल, जिम्मेवारी र इमानदारीका साथ कार्यक्षेत्रमा लाग्न प्रेरित गर्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए।











