काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत भदाै १० गतेको रसुवा-भोटेकोशी बाढीमा बेपत्ता भएका स्वदेशी तथा विदेशी व्यक्तिहरूको विवरणमा दाबी पेश गर्न ७ दिने अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ। विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) बमोजिम यो सूचना जारी गरिएको हो।
प्राधिकरणका अनुसार बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारले ७ दिनभित्र दाबी पेश गर्नुपर्नेछ। स्वदेशी व्यक्तिको हकमा स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिसमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित प्राप्त विवरणका आधारमा सूचना प्रकाशन गरेको हो । यसैगरी विदेशी व्यक्तिको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणलाइ आधार बनाइएको छ।
प्राधिकरणले पहिलो पटक गत कात्तिक २१ गते र दोश्रो पटक मंसिर ५ गते सूचना प्रकाशन गरेको हो। पहिलो चरणमा उल्लिखित बाहेक थप १७ वटा जिल्लाबाट यकिन भई आएका कूल ९९८ जनाको विवरण बेपत्ता मानिसहरूको सूचीमा समावेश गरिएको छ। बेपत्ताको सूचीमा नभएका तर बेपत्ता भएको यकीन भइसकेका व्यक्तिको परिवारजनले आवश्यक कागज प्रमाण जुटाएर जिल्ला प्रशासन कार्यालयमार्फत् प्राधिकरणमा निवेदन दिन सक्नेछन् । यसबाहेक बेपत्ता भएका व्यक्तिको नाम, थर, वतनमा कुनै त्रुटी देखिएको वा केही छुटेको भएपनि आवश्यक संशोधनका लागि परिवारजनले निवेदन दिन सक्ने प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार, बेपत्ताहरूको सूचीमा हुम्ला (३ जना), दैलेख (६ जना), मोरङ (२ जना), पाँचथर (१ जना), सोलुखुम्बु (५२ जना), गोरखा (६७ जना), नुवाकोट (६३१ जना), मकवानपुर (५० जना), दोलखा (५९ जना), सर्लाही (पहिलो चरणमा प्रकाशित बाहेक थप १ जना), रोल्पा (२५ जना), बाँके (१७ जना), दार्चुला (३ जना), कञ्चनपुर (२६ जना), बझाङ (२ जना), गुल्मी (५ जना), र सल्यान (४८ जना) रहेका छन् ।
विवरणमा थपघट वा संशोधन गर्नुपर्ने भएमा फरक परेको व्यहोरा खुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा वा प्राधिकरणको इमेल [email protected] मा दाबी पेश गरी पठाउन अनुरोध गरिएको छ। बेपत्ता व्यक्तिको परिवार वा आफन्तजनले थप जानकारीका लागि मोबाइल नम्बर ९८५१३२०२६९ वा ९८४९२८१०९७ मा सम्पर्क गर्न सक्नेछन् ।
विदेशी व्यक्तिको हकमा पहिलो चरणमा उल्लिखित बाहेक थप १२ वटा देशका नियोगबाट यकिन भई आएका कूल ४५२ जना को विवरण समावेश गरिएको छ। भारत(२१३जना), अमेरिका(६९जना), फ्रान्स(४जना), क्यानेडा(२७जना), बेलारूस(१जना), सिंगापुर(९जना), बेलायत(३२जना), हंगेरी (२जना), बेल्जियम (२जना), कजाकस्तान (२), चीन (८५) र दक्षिण अफ्रिका (६जना) रहेका छन् ।
विदेशी नागरिकको विवरणबारे विस्तृत जानकारी लिन तथा कुनै दाबी वा विरोध भए पेस गर्न परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
बेपत्ता स्वदेशी नागरिक र भारतीय नागरिकको विवरण https://setu.ndrrma.gov.np/missing/ वा https://setu.ndrrma.gov.np/missing/ मा क्लिक गरी वा सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी हेर्न सकिने प्राधिकरणले जनाएको छ।











