काठमाडौं । जेनेराली र विश्व बैंक समूह (डब्ल्यूबीजी) ले एसियामा जलवायु बीमाको खाडललाई सम्बोधन गर्न महत्वपूर्ण सम्झौता गरेका छन्।
बैंककमा डब्ल्यूबीजी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकका क्रममा एक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो। यो सम्झौताले निजी पुँजी परिचालन गर्ने, लचिलोपनलाई सुदृढ पार्ने र उदीयमान बजारहरुमा लक्षित बीमा र लगानी समाधान विस्तार गर्ने लक्ष्य राखेको छ।
साझेदारीले उदीयमान बजारहरुका लागि लगानी समाधान र बीमा उत्पादनहरुलाई अगाडि बढाउने लक्ष्य राखेको छ। लगानीको मोर्चामा जेनेराली र डब्ल्यूबीजीले संयुक्त रुपमा लगानी अवसरहरु विकास गर्नेछन्। जसले संस्थागत पुँजीलाई उदीयमान बजारहरुमा आकर्षित गर्न मद्दत गर्न सक्छ। यसका साथै जेनेरालीको लगानी आवश्यकताहरु पनि पूरा गर्नेछ।
बीमा समाधानको सन्दर्भमा सुरुमा एसियाली बजारहरुमा ध्यान केन्द्रित गर्दै साझेदारी तीन प्रमुख क्षेत्रहरुमा केन्द्रित हुनेछः डब्ल्यूबीजीको ‘सिल्भर इकोनोमी प्रोग्राम’ अनुरुप बढ्दो वृद्ध जनसंख्याको आवश्यकताअनुरुप बीमा विकल्पहरु विकास गर्ने; कृषि क्षेत्रमा जलवायु र बाली बीमाका लागि लक्षित समर्थन प्रदान गर्ने र प्रकोप र जलवायु जोखिमहरुविरुद्ध लचिलोपनलाई बलियो बनाउने रहेका छन्।
यसैगरी दुवै पक्षले उदीयमान क्षेत्रहरुमा जोखिम एकीकरणलाई प्रवर्द्धन गर्न सहयोग गर्नेछन्। तिनीहरुले विपद् जोखिम कभरेजका लागि विविध र स्केलेबल फ्रेमवर्कहरु सिर्जना गर्नेछन् र जलवायु जोखिमहरुसँग सम्बन्धित नयाँ र नवीन जोखिम एकीकरण संयन्त्रहरु विकास गर्नेछन्। –एजेन्सी












