काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विन्ध्यावसिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमाथि कारबाही गरेको छ।
नेप्सेले वार्षिक साधारणसभा, बुक क्लोज र लाभांश वितरणसम्बन्धी निर्णयको जानकारी समयमै पेस नगरेका कारण विन्ध्यावासिनी हाइड्रोपावरमाथि कारबाही गरेको हो। कम्पनीले उक्त निर्णय असोज २६ गते दिउँसो ३ः३० बजे गरेको थियो। तर, नेप्सेमा भने कम्पनीले ती निर्णयबारे असोज २७ गते साँझ ५ः५९ बजे पेस गरेको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित कम्पनीले नेप्सेमा पेस गर्नुपर्छ। तर, ती निर्णयहरु ढिला गरी पेस गरेकोले नेप्सेमा विन्ध्यावासिनी हाइड्रोपावरको सूचीकरण स्थगन गरी ३ कार्यदिनभित्र समयमै पेस गर्न नसक्नुको कारणबारे स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
नेप्सेको यो कारबाहीसँगे विन्ध्यावासिनी हाइड्रोपावरको शेयर कारोबार स्वतः स्थगित भएको छ।












