काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई सरसफाइहीन, बासी, झिँगा भन्केको र अस्वस्थकर खाना उपलब्ध गराउने तथा अत्यधिक मूल्य लिने होटल तथा रेस्टुरेन्टहरूमाथि कडाइ गरिने भएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै चालक तथा होटल सञ्चालकहरूलाई सचेत गराएको छ।
पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठक बसी सार्वजनिक यात्रुवाहक सवारी साधनका चालकहरूले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘खाद्य स्वच्छताको स्टिकर’ टाँसिएका सफा, स्वच्छ र गुणस्तरीय होटल/रेस्टुरेन्टहरूलाई प्राथमिकता दिएर मात्र सवारी साधन रोक्नुपर्ने निर्णय गरेको छ।
विभागका अनुसार, कम गुणस्तरको खानाका कारण यात्रुहरू बिरामी परेको व्यापक जनगुनासो आएकाले सम्बन्धित निकायहरूले सूक्ष्म निगरानी गरिरहेका छन्। यदि खानाका कारण यात्रु बिरामी परेको पाइएमा सम्बन्धित सवारी चालक र होटल/रेस्टुरेन्ट सञ्चालक दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
यस्तै, खानाको स्वच्छता र गुणस्तरमा कमी पाइएमा वा मूल्यमा ठगी भएको भेटिएमा यात्रुहरूले तत्काल नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी जानकारी गराउन सक्नेछन्। यसका साथै नजिकैको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गतका कार्यालयहरूमा समेत सम्पर्क गरी जानकारी दिन विभागले अनुरोध गरेको छ।












