काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्म बीमा कम्पनीहरुले सवा ५१ अर्ब रुपैयाँ माथिको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौसम्म ५१ अर्ब २६ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को भदौसम्म कम्पनीहरुले ४४ अर्ब २८ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १५.७८ प्रतिशतले बढेको छ।
तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको भदौसम्म ४१ अर्ब २९ करोड १९ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १४.७३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष भदौसम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।
चालु आर्थिक वर्षको भदौसम्म जीवन कम्पनीहरुले ८ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ३२ अर्ब ५९ करोड ७३ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र २८ अर्ब ७२ करोड ४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क १९.६० प्रतिशत र नवीकरण बीमाशुल्क १३.५० प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २०.३१ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको भदौसम्म कुल जारी जीवन बीमालेख संख्या १५ लाख ७५ हजार ६९ र कुल जारी निर्जीवन बीमालेख संख्या ५ लाख ३२ हजार ४७ रहेको छ। अघिल्लो वर्ष भदौसम्म कुल जारी जीवन बीमालेख संख्या ११ लाख ९८ हजार ६४३ र कुल जारी निर्जीवन बीमालेख संख्या ४ लाख ९० हजार ३०७ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षामा अवधिमा कुल जारी जीवन बीमालेख संख्या ३१.४० प्रतिशत र कुल जारी निर्जीवन बीमालेख संख्या ८.५१ प्रतिशतले बढेको छ।












