काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले ४ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीले बूढीगण्डकी जलविद्युत आयोजना, दोभान खोजा जलविद्युत आयोजना, यारु खोला जलविद्युत आयोजना र माछा खोला जलविद्युत आयोजनामा क्षति पुर्याएको हो।
अकास्मात आएको बाढीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। यो आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको भने केही निर्माण उपकरण पनि बगाएको छ।
यसैगरी बाढीले २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। यो आयोजनाको पनि क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको र बेलिब्रिज बगेको छ।
बाढीले ३०.५९ मेगावटको यारु खोला जलविद्युत आयोजनाको बेलिब्रिजमा क्षति पुर्याउनुका साथै निर्माण सामग्री तथा उपकरण बगाएको छ।
त्यस्तै १६ मेगावट क्षमताको माछा खोला जलविद्युत आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा बाढीले क्षति पुर्याएको छ।












