काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्म झन्डै ८ अबै रुपैयाँको नयाँ व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु वर्षको भदौसम्म ७ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क (नयाँ व्यापार) संकलन गरेका छन्। अघिल्लो वर्ष २०८२।८३ को भदौसम्म कम्पनीहरुले ६ अर्ब ५४ करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म बीमकहरुको नयाँ व्यापार २१.८२ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म सर्वाधिक नयाँ व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले सन नेपाल लाइफ अगाडि रहेको छ। नयाँ व्यापार १३ वटै कम्पनीको बढेको भने एउटा कम्पनीको घटेको छ।
चालु वर्षको भदौसम्म नेपाल लाइफले २ अर्ब ९ करोड ४५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नयाँ व्यापार १३.३८ प्रतिशतले बढेको छ।
दोस्रोमा नेसनल लाइफ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नयाँ व्यापार २३.४० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले ९२ करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।
धेरै नयाँ व्यापार भित्र्याउने तेस्रो कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष भदौसम्म ४१ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ४२.७२ प्रतिशतले बढेर ५९ करोड २८ लाख रुपैयाँ पुगेको छ।
यसैगरी समीक्षा अवधिसम्म सिटिजन लाइफले ५२ करोड ७४ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ५० करोड ६६ लाख रुपैयाँ, हिमालयन लाइफले ४५ करोड ७२ लाख रुपैयाँ, आइएमई लाइफले ४४ करोड ६ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले ३९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको साउनको तुलनामा समीक्षा अवधिसम्म सिटिजन लाइफको नयाँ व्यापार १९.१२ प्रतिशत, एलआईसी नेपालको ६.२२ प्रतिशत, हिमालयन लाइफको २१.४० प्रतिशत, आइएमई लाइफको ५३.२६ प्रतिशत र रिलायबल नेपाल लाइफको ३७.१४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म एसियन लाइफले ३९ करोड २३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३४ करोड १८ लाख रुपैयाँ, मेट लाइफले ३० करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले २९ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले २६ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफले २० करोड ५९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यापार घटेको छ भने अरु सबैको बढेको छ।













