IME Life New

बीमाः आर्थिक संकटमा भरोसाको आधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

  • सूर्य सुमन थापा

हरेक मानिस आफ्नो उन्नति र प्रगतिमा रमाउने एक सामजिक प्राणी हो । मानिस स्वभावैले आफ्नो वर्तमानसँगै भविष्यबारे पनि सोच्ने प्राणी हो। आजको कमाइ, आजको आवश्यकता र आजको जीवनशैलीसँगै भोलि के होला भन्ने प्रश्न पनि उसको मनमा कतै न कतै हुन्छ । घर बनाउने, छोराछोरी पढाउने, व्यवसाय गर्ने, बचत गर्नेजस्ता योजना भविष्यलाई सुरक्षित बनाउने प्रयास नै हुन् । त्यसैले मानिसका धेरैजसो क्रियाकलाप कुनै न कुनै रुपमा अर्थसँग सम्बन्धित हुन्छन् भन्दा कुनै उपयुक्ति नहोला आजको विज्ञान, प्रविधि र खोजको युगमा मानिसले जीवनलाई धेरै सहज बनाएको छ। तर, यति धेरै सुविधा र सम्भावना हुँदाहुँदै पनि मानिस कतिपय विषयमा आफ्नै सोच र व्यवहारका कारण पछि पर्नुपरेको कुरा पनि सत्य हो ।

चाहे व्यक्तिगत जीवन होस् वा परिवार, समाज र राष्ट्रको विकास नै किन नहोस ? सबै ठाउँमा सकारात्मक सोचसँगै भविष्यप्रतिको सही योजनाको आवश्यकता पर्दछ । आजको आम्दानी र आवश्यकतालाई मात्र हेरेर भविष्य सुरक्षित हुँदैन । भविष्यको सबैभन्दा ठूलो विशेषता नै यसको अनिश्चितता हो । भोलि के हुन्छ भन्ने निश्चित नभएको जीवनमा भविष्यमा आइपर्ने सम्भावित जोखिमका लागि आजैदेखि केही तयारी गर्नु नै बुद्धिमानी ठहर्छ ।

Esewa
Crest

दिनानुदिनको कामकाजमा लागेको स्वस्थ र सक्षम देखिएको मानिस पनि भोलि बिरामी पर्न सक्छ, दुर्घटना हुन सक्छ, आम्दानीको स्रोत नै बन्द हुन सक्छ, परिवारको मुख्य कमाउने सदस्य गुम्न सक्छ वा व्यवसाय, कृषि तथा पशुपालनमा अनपेक्षित क्षति हुन सक्छ । यस्ता जोखिमलाई रोक्न सधैँ सम्भव हुँदैन । तर, जोखिमबाट उत्पन्न हुने आर्थिक भारलाई केही हदसम्म व्यवस्थापन गरी न्यूनीकरण गर्न सकिन्छ । त्यसैले हरेक परिवारको जिम्मेवारीमा बीमाको आवश्यकताको अवधारणा जोडिन्छ ।

बीमा केवल पैसा जम्मा गर्ने वा निश्चित समयपछि पैसा फिर्ता लिने माध्यम मात्र होइन । यो सम्भावित आर्थिक जोखिमविरुद्ध गरिने एउटा पूर्वतयारी पनि हो। तर, नेपालमा बीमालाई लिएर अझै पनि धेरै द्विविधाका साथै बीमा बुझाइ र व्यवहारबीच ठूलो दूरी देखिन्छ।

नेपालमा बीमाप्रतिको द्विविधाः आवश्यकता र वास्तविकताबीचको दूरी

हालको तथ्यांकअनुसार नेपालमा बीमाको पहुँच बिस्तारित हुँदै गए पनि बीमा र आमनागरिकबीचको दूरी भने कायमै देखिन्छ । बीमा गर्ने मानिसको संख्या बढ्नु मात्र पर्याप्त हुँदैन । आफूले किन बीमा गरेको हो, कस्तो जोखिमका लागि गरेको हो, कति बीमाशुल्क तिर्नुपर्छ, कुन अवस्थामा लाभ पाइन्छ, कुन अवस्थामा पाइँदैन र दाबी कसरी गर्ने भन्ने विषयमा पनि स्पष्ट बुझाइ हुनु आवश्यक हुन्छ । अझै पनि कतिपय मानिसहरुको मनमा एउटै प्रश्न हुन्छ, पैसा भए राख्ने ठाँउ धेरै छन ? यहाँ पैसा तिरेर के पाइन्छ ?

बीमाको अवधिभर कुनै ठूलो जोखिम नआएसम्म आफूले तिरेको बीमाशुल्क लाई कतिपयले खर्चका रुपमा बुझेको पाइन्छ । यही सोचका कारण बीमाको वास्तविक उद्देश्य अझै पनि ओझेलमा परेको छ । बीमालाई हरेक वर्ष पैसा तिरेर त्यसको बराबर प्रतिफल खोज्ने माध्यमका रुपमा मात्र हेर्दा यसको जोखिम व्यवस्थापनको पक्ष छुट्न पुग्दछ ।

सामान्य अवस्थामा बीमा गरेको मानिस र बीमा नगरेको मानिसबीचको दैनिकीमा खासै ठूलो अन्तर नदेखिन सक्छ। तर, परिवारको मुख्य आम्दानी गर्ने सदस्यको मृत्यु भएमा, गम्भीर प्रकृतिको रोग लागेमा, बीमाका कारण वा दुर्घटनामा परी आंशिक वा पूर्ण अशक्त भएमा, घटना– दुर्घटनाका कारण लामो समय अस्पताल बस्नुपर्दा भोग्नुपरेको आर्थिक क्षति वा अन्य जोखिम आइपर्दा भने आर्थिक सुरक्षाको महत्व विशेष ढंगले देखिन सक्छ । त्यसैले होला बीमाको मूल्य जोखिम परेको बेलामा बढी महसुस हुने गर्दछ ।

समस्या यहीँ छ– बीमा गर्ने बेलामा धेरै कुरा सुन्ने गरिन्छ तर बीमालेखका सर्तहरु र आफ्नो वास्तविक आवश्यकतालाई पर्याप्त समय दिएर बुझ्ने अभ्यास अझै बलियो हुन सकेको छैन। कतिपय अवस्थामा मानिसले अरुको सुझाव, आफन्तको आग्रह वा अभिकर्ताको सल्लाहका आधारमा बीमा गर्छन् । पछि आफ्नो आर्थिक अवस्था, आवश्यकता वा अपेक्षासँग आफूले लिएको बीमालेख मेल नखाएको महसुस हुन सक्छ।

बीमा गरेपछि गुनासा किन आउँछन् ?

प्रायः बीमा गरेपछि गुनासा आउनुको एउटै कारण व्यक्तिगत अपेक्षा र वास्तविकता बीच हुने अन्तर नै हो । बीमा खरिद गर्दा ग्राहकले आफूले पाउने विभिन्न लाभबारे स्पष्ट बुझेको छैन भने कुनै पनि समयमा समस्या उत्पन्न हुन सक्छ । जस्तैः बीमाशुल्क तिर्ने अवधि लामो हुन सक्छ । केही वर्षपछि पारिवारिक आवश्यकता बदलिन पनि सक्छ, आम्दानी घट्न सक्छ वा अन्य आर्थिक दायित्व थपिन सक्छ । यस्तो अवस्थामा निरन्तर बीमाशुल्क तिर्न कठिन लाग्न सक्छ ।

अर्कोतर्फ बीमा गर्दा सोचेको लाभ र बीमालेखमा उल्लेख भएको लाभ फरक रहेमा पनि असन्तुष्टि जन्मिन सक्छ । त्यसैगरी बीचमै बीमालेख समर्पण गर्ने अवस्थामा आफूले तिरेको सम्पूर्ण रकम फिर्ता नआउन सक्छ भन्ने कुरा धेरैले सुरुमा नबुझेको हुन सक्छ । त्यसपछि प्रश्न उठ्छ– मैले धेरै पैसा तिरेँ, किन थोरै मात्र फिर्ता भयो ? त्यसैले यस्ता प्रश्नहरु बीमालेख खरिद गर्ने बेलामै सोध्ने बानीले धेरै कुराहरुमा अग्रिम जानकारी हुन सक्छ । मैले बीचमै बीमालेख रोक्नुपर्यो भने के हुन्छ ?, कति समयसम्म बीमाशुल्क बीमाशुल्क तिर्नुपर्छ, कुन अवस्थामा दाबी गर्न पाइन्छ, कुन अवस्थामा पाइँदैन ? जस्ता प्रश्नहरु ग्राहकले सुरुमै सोधर आफू जानकार हुनु राम्रो हुन्छ, त्यसैले बीमा प्रभावकारी हुन मानिसलाई बीमामा जोड्नुमात्र पर्याप्त हुँदैन । उसले आफुले लिएको बीमालेखबारे बुझ्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

समस्या पर्दा अभिकर्ता र कम्पनीलाई मात्र दोष दिने प्रवृत्ति

प्रायःजसो बीमीतको बीमामा असन्तुष्टि देखिएपछि पहिलो प्रश्न अभिकर्तालाई नै जान्छ, कतिपय ग्राहकले आफूले बीमालेखका सर्तहरु नबुझेको अवस्थामा पनि सम्पूर्ण जिम्मेवारी अभिकर्ता माथी नै थुपारेको पाइन्छ । अर्कोतर्फ दाबी प्रक्रिया, सेवा वा बीमालेखसम्बन्धी समस्या आएमा कम्पनीलाई मात्र दोष दिने प्रवृत्ति पनि देखिन्छ। वास्तवमा बीमा एउटा तीनपक्षीय सम्बन्ध हो, जहाँ ग्राहक, अभिकर्ता र बीमा कम्पनी तीनै पक्षको आ–आफ्नो जिम्मेवारीको गहन भूमिका हुन्छ।

अभिकर्ताले ग्राहकलाई योजना बेच्ने मात्र होइन, त्यसका महत्वपूर्ण सर्तहरु बीमाशुल्क, अवधि, लाभ, सीमितता र दाबीसम्बन्धी विषय सरल भाषामा बुझाउनुपर्छ । ग्राहकको आर्थिक क्षमता र आवश्यकताभन्दा बाहिर गएर केवल बिक्री र आफ्नो व्यावसायिक लक्ष्यलाई प्राथमिकतामा राखेर बीमालेख बेचेको छ भने त्यसले भविष्यमा अविश्वास निम्त्याउन सक्छ । यस्तो अविश्वासले सबैलाई हानी पुर्याउँदछ ।

बीमा कम्पनीहरुको निकै महत्वपूर्ण जिम्मेवारी हुन्छ। किनकि बीमालेखका सर्तहरु स्पष्ट हुनु, सेवा पारदर्शी हुनु, ग्राहकको गुनासो सुन्ने व्यवस्था हुनु र दाबी प्रक्रियालाई सहज तथा समयमै अघि बढाउनुजस्ता क्रियाकलापहरुले विश्वास निर्माणका आधार तयार हुन्छ ।

यसैगरी ग्राहकको पनि आफ्नै जिम्मेवारी रहन्छ । आफूले हस्ताक्षर गर्न लागेको कागजात पढ्ने, नबुझेको कुरा सोध्ने, आफ्नो आर्थिक क्षमताअनुसार योजना छनोट गर्ने र दीर्घकालीन दायित्व बुझेर निर्णय गर्ने जिम्मेवारी ग्राहकको नै हो । यस्तो भएमा मात्रै बीमालेखले पूर्णता प्राप्त गरी दीर्घकालीन लाभ प्रदान गर्दछ ।

त्यसैले हरेक समस्याको जड अभिकर्ता वा कम्पनी नै हो भन्न खोज्दा वास्तविक कारण छुट्न सक्छ र भविष्यमा समस्या उत्पन्न हुन सक्दछ ।

कमिसनको कुराः बहसभन्दा पारदर्शिता महत्वपूर्ण

कमिसन बिना बीमाको चर्चा गर्दा खल्लो हुन सक्दछ । बीमासँगै जोडिएर आउने यो कमिसनको विषयमा पटक–पटक प्रश्न उठ्ने गरेको पाइन्छ । अभिकर्ताले आफ्नो श्रम, ज्ञान, समय र व्यावसायिक सेवाका लागि कमिसन पाउनु स्वाभाविक तथा व्यावसायिक प्रक्रियाको हिस्सा हो तर प्रश्न कमिसन पाउनुमात्र होइन, ग्राहकलाई उपयुक्त बीमालेख छनोट गराइयो कि केवल बिक्रीलाई आफ्नो व्यावसायिक लक्ष्यलाई मात्र प्राथमिकतामा राखियो ? भन्ने हो । यदि ग्राहकको आवश्यकता, आर्थिक क्षमता र जोखिमलाई ध्यान नदिई मनोमानी तरिकाले योजना बेच्ने प्रयास हुन्छ भने त्यसले ग्राहकको विश्वासमा असर पार्न सक्छ । त्यसैले कमिसनको विषयलाई मात्र नकारात्मक रुपमा हेर्नुभन्दा बिक्री प्रक्रियामा पारदर्शिता, उपयुक्त परामर्श र ग्राहकको हितलाई प्राथमिकतामा राख्नु महत्वपूर्ण हुन्छ।

अन्ततः बीमासम्बन्धी त्रिपक्षीय सम्बन्ध त्यतिबेला प्रगाढ बन्दछ जब ग्राहकले आफूले लिएको बीमालेखबारे पूर्ण रुपमा जानकारी प्राप्त गर्दछ यो बुझाइले मात्रै ग्राहकले अभिकर्ता र कम्पनीप्रति दरिलो बिश्वास राख्न सक्छ ।

व्यक्तिगत तथा समाजिक सम्बन्धले पार्ने असर

बीमालेख खरिद गर्नु कुनै एउटा ब्यक्तिको आर्थिक निर्णय भए पनि यो सामाजिक सम्बन्धहरुबाट प्रभावित बन्दछ । साथीभाइ, आफन्त, परिवार, छिमेकी वा चिनजानका मानिसको अनुभव तथा संलग्नताले पनि बीमा गर्ने मानिसको निर्णयलाई फरक पार्न सक्छ । जस्तैः कसैले राम्रो अनुभव सुनायो भने बीमाप्रति सकारात्मक धारणा बन्न सक्छ। त्यसैगरी कसैले खराब अनुभव सुनायो भने त्यसको प्रभाव पनि खराब नै पर्न सक्छ । कतिपय अवस्थामा आफन्त वा साथीको आग्रहमा बीमा गरेको पाइन्छ। बीमाशुल्क तिर्दै जाँदा पछि लामो समयसम्म बीमाशुल्क तिर्नुपर्ने हुँदा त्यही निर्णय आर्थिक बोझजस्तो लाग्न सक्छ।

यसकारण बीमा सम्बन्धका कारण मात्र होइन, आफ्नो आवश्यकता, आर्थिक क्षमता, जोखिम र बीमालेखका शर्तहरु बुझेर मात्र गर्नुपर्छ । अभिकर्ता तथा बीमा कम्पनीले पनि ग्राहकलाई उसको क्षमताभन्दा बढी दायित्व लिन प्रेरित गर्नुको सट्टा उपयुक्त योजना छनोट गर्न सहयोग गर्नुपर्छ।

नेपाली समाजमा बीमाको प्रभावकारिता बढाउन के गर्न सकिन्छ ?

बीमाको पहुँच बढाउने जिम्मेवारी केबल एउटा पक्षको मात्र नभएर पक्कै पनि सरकार, नियामक निकाय, बीमा कम्पनी, अभिकर्ता, सञ्चारमाध्यम, सम्भावित निकायहरु, र स्वयं नागरिक सबैको हुन्छ । त्यसैले यसको प्रभाकारिता बढाउन निम्न कुराहरुमा ध्यान दिनु आवस्यक देखिन्छ ।

१ . सरकारले आफ्नो नीति तथा कार्यक्रममा बीमाको महत्व जोड्न सक्छ र चाहेमा यसलाई अनिवार्य बनाउन पनि सक्दछ । कृषि, पशुपालन, व्यवसाय, उद्योग तथा जोखिमयुक्त पेसा वा क्षेत्रमा बीमालाई प्रोत्साहन गर्ने नीति निर्माण गर्न सक्छ । तर, नागरिकमाथि अनावश्यक आर्थिक भार नपर्ने गरी बीमासम्बन्धी कार्यहरु अघि बढाउनु आवश्यक हुन्छ ।

२. बीमाबारे बिभिन्न सञ्चारका माध्यमहरु जस्तैः टेलिभिजन, रेडियो, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिलाई उपायोगितामा ल्याई आधिकारिक र सरल सूचना निरन्तर प्रवाह गर्न सकिन्छ । बीमा के हो भन्ने मात्र होइन यसको आवश्यकता, महत्व, भूमिका र बीमालेखसम्बन्धी सम्पूर्ण जानकारी जस्तैः बीमाशुल्क, अबधी र योजना के हो, बीमालेख खरिद गर्दा के हेर्ने, दाबी कसरी गर्ने ? र बीमालेख समर्पण गर्दा के हुन्छ ? भन्ने विषयमा आममानिसले बुझ्ने भाषामा प्रस्तुत गर्न आवश्यक छ ।

३. सबैभन्दा महत्वपूर्ण कुरा भनेको दाबी भुक्तानी र ग्राहक सेवाबाट विश्वास निर्माण गर्नु हो । वास्तविक ग्राहकले कठिन समयमा बीमाबाट सहयोग पाएको अनुभव समाजमा फैलिँदा त्यसले विज्ञापनभन्दा प्रभावकारी ढंगले विश्वास निर्माण गर्न सक्छ । त्यसैले यो विषयमा पनि सम्बन्धित निकायहरुको ध्यान जानु आवस्यक देखिन्छ ।

बीमा केका लागि ?

बीमा डर देखाएर वा डराएर खरिद तथा बिक्री गर्ने कुनै वस्तु होइन । यो सम्भावित जोखिमप्रति सचेत गराएर वा भएर आजै गरिने आर्थिक तयारी हो। हामी भविष्यमा आइपर्ने जोखिमका बारेमा जान्दैनौँ तर भविष्यमा आइपर्ने समस्याका बारेमा आंकलन गरी समस्या आयो भने त्यसबाट हुनसक्ने सम्भावित आर्थिक असरलाई कसरी व्यवस्थापन गरी न्यूनीकरण गर्ने भन्नेबारे आज निर्णय गर्न सक्छौँ । यही अर्थमा बीमा व्यक्तिगत सुरक्षासँगै आश्रित परिवारको आर्थिक स्थिरता र व्यवसायको जोखिम व्यवस्थापनसँग जोडिन्छ । अझ भन्नुपर्दा भोलिको उज्वल भबिष्यको माध्यम नै बीमा हो ।

धेरै विज्ञापनले मात्र हाम्रो समाजाम बीमाको विश्वास बढाउन पर्याप्त भूमिका खेल्दैन बरु ग्राहकले बुझ्ने भाषा, स्पष्ट बीमालेख, जिम्मेवार अभिकर्ता, बीमा कम्पनीका पारदर्शी सर्तहरु, सहज दाबी प्रक्रिया र वास्तविक सेवाको अनुभव पर्याप्त हुन सक्दछ । हामीले बीमालाई केबल खर्चका रुपमा हेर्न पुग्दछौँ । त्यसैले बीमामा पैसा तिरेर के पाइन्छ ? भन्ने प्रश्नबाट मात्र हेर्ने हो भने यसको महत्व र खास अर्थ छुटन जान्छ यसको सट्टा भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट उत्पन्न हुने मेरो आम्दानीको असर र आश्रित परिवारको असुरक्षालाई कसरी सुरक्षित गर्ने भन्ने प्रश्नबाट मात्र बीमाको वास्तविक अर्थ र बुझाइ हुन सक्दछ ।

आज सानो रकम छुट्याएर भविष्यमा आउन सक्ने ठूलो आर्थिक जोखिमलाई व्यवस्थापन गर्ने सोच नै बीमाको वास्तवीक आधार हो । त्यसैले बीमाको विस्तार केवल बीमालेखको संख्या बढाएर मात्र होइन, मानिसले आफूले गरेको बीमा किन गरेको हो भनेर बुझ्नु, विश्वास गर्नु र आवश्यक परेको समयमा त्यसबाट वास्तविक आर्थिक सुरक्षा प्राप्त गर्नु पनि हो। बीमाको प्रभावकारिता त्यतिबेला मात्र बढेर जान्छ जब यो बीमालेख केबल एउटा कागजको पन्नामा मात्र सीमित रहँदैन् जब यो मानिसको जीवनमा आर्थीक सुरक्षाको भरोसा बन्न पुग्दछ ।

जीबनमा आईपर्ने विभिन्न संकटका बारेमा हामी अनभिज्ञ छौँ । हाम्रो जीवनमा आइपर्ने भोलिको जोखिम, हाम्रो हातमा छैन तर जे भए पनि आफू र आफूसँग आश्रित परिवारलाई आर्थिक रुपमा एक्लो नपार्ने निर्णय भने आज हाम्रो हातमा छ। सायद बीमाको वास्तविक बुझाइ र वास्तविक अर्थ पनि यही हो भन्न सकिन्छ ।

(लेखक थापा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोखरा शाखाका प्रमुख हुन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS