काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघ महासभामा जलवायू परिवर्तनको विषयमा विश्वको ध्यानाकर्षण गराउँदै बिहीबार अमेरिकाको न्यू योर्कस्थित राष्ट्र संघ मुख्यालयमा गरेको सम्बोधनको अहिले विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। उनले कुनै टिपोट बिना नै कसरी धाराप्रवाहरूपमा प्राविधिक शब्दहरू सहित सम्बोधन गर्न सके भन्ने बारे पनि सर्वसाधारण जिज्ञासु हुँदै उनको प्रशंसामा सामाजिक सञ्जालमा शब्द लेखिरहेका छन् ।
प्रधानमन्त्री बालेन्द्रले अन्तर्राष्ट्रिय मञ्चबाट हालै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुगेको मानवीय र आर्थिक क्षतिबारे विश्वजगतको गम्भीर ध्यानाकर्षण गराउँदै तत्कालै यूद्धका पोतहरू एउटा महादेशबाट अर्को महादेशमा पुर्याउने विश्वमा किसानले बजार मूल्यमा रासायनिक मल पाउन सक्दैन, सर्वसाधारणले बजार मूल्यमा इन्धन किन्न पाउँदैनन् भन्ने गम्भीर प्रश्न प्रति ध्यानाकर्षण गराएका थिए । उनले भाषणका क्रममा जलवायू परिवर्तन, पर्यावरणलगायत विषयमा थुप्रै प्राविधिक शब्दहरूको समेत प्रयोग गरेका थिए ।

प्रधानमन्त्री शाहले आफ्नो अघिल्तिर दाहिने र देब्रे दुबैतर्फ राखिएका पारदर्शि शिशामा हेर्दै भाषण गरेका हुन् । उनको अघिल्तिर राखिएका दुईवटा पारदर्शि शिशामा भुइँमा रहेको मनिटर(टिभी वा ल्यापटपको पर्दा जस्तै) मा सररर सर्दै गएको शब्दहरू उनको आँखाको अगाडी रोष्ट्रम अघिल्तिर ठड्याइएका दुईवटा चारकुने आकारको पारदर्शि शिशामा प्रतिबिम्ब देखिएका थिए। त्यो प्रतिबिम्ब उनी वा उनीतर्फ उभिएकाहरूले मात्र देख्ने तर दर्शक दीर्घाबाट नदेखिने खालको हुन्छ। यस्तो पर्दामा देखिने भाषणहरूको प्रवाह नियन्त्रण गर्ने स्वीच वा माउस वक्ताको हात नजिकै वा तल खुट्टामा रोष्ट्रममा राखिएको हुन्छ, जहाँबाट वक्ताले स्वीच माथि नै हात वा खुट्टा राखेर आफूले पढ्नुपर्ने भाषणको पेज पल्टाउने काम सहजै गर्न संभव हुन्छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुनसुकै सार्वजनिक सभा सभारोहमा टेलिप्रम्पटरकै सहारामा भाषण गर्छन्, त्यसैले उनको भाषण स्क्रिप्टेड (पहिले नै लेखिएको, बुट्टा भरिएको, छन्द मिलेको) जस्तो सुनिन्छ।
नेपालमा अझै पनि सार्वजनिक सभा समारोहमा यस्ता टेलिप्रम्पटर उपकरणहरूको प्रयोग व्यापकरूपमा भइसकेको छैन। टेलिभिजन र युट्युब च्यानलमा समाचारवाचन गर्नेहरूले चाहि आफ्नो सामू राखिएको टेलिप्रम्पटरमा हेर्दै समाचार वाचन गर्छन् । यसका लागि टेलिप्रम्टरकै छेउमा क्यामेरा खडा गरिएको हुन्छ जस्ले गर्दा समाचारवाचकले क्यामेरामै हेरेर आत्मविश्वासका साथ धारा प्रवाह समाचारवाचन गरिरहेको भान दर्शकलाई पर्न जान्छ।
तस्वीर श्रोतः युएन टिभी












