काठमाडौं । शैक्षिक सिकाइ र व्यावहारिक कर्पोरेट अनुभवबीचको दुरी कम गर्ने उद्देश्यका साथ गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखा बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै संस्था मिलेर विद्यार्थी इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्न यो सम्झौता गरेका हुन्।
रेसुङ्गा नगरपालिका–१, तम्घासस्थित क्याम्पस प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच क्याम्पस प्रशासन, इन्स्योरेन्स कम्पनीका प्रतिनिधिहरू र विद्यार्थीहरूको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
यस नयाँ साझेदारी अन्तर्गत, रेसुङ्गा बहुमुखी क्याम्पसका स्नातक र स्नातकोत्तर तहका (विशेष गरी व्यवस्थापन संकायका) विद्यार्थीहरूले सन नेपाल लाइफ इन्स्योरेन्सको गुल्मी शाखामा व्यवस्थित रूपमा इन्टर्नसिप को अवसर पाउनेछन्। यो कार्यक्रम विद्यार्थीहरूलाई बीमा क्षेत्रको कार्यप्रणाली, संस्थागत सुशासन, वित्तीय योजना, ग्राहक सम्बन्ध र स्थलगत सञ्चालनका बारेमा व्यावहारिक ज्ञान प्रदान गर्ने गरी तयार गरिएको छ।
कार्यक्रममा बोल्दै रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुर्य उपाध्यायले ग्रामीण क्षेत्र का युवा विधार्थीहरुलाई व्यवहारिक ज्ञान, व्यवसायिक दक्षता र रोजगारीको अवसर बढाउन यो साझेदारी एउटा महत्त्वपूर्ण कदम साबित हुने बताए । क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानबाट प्रतिस्पर्धी व्यावसायिक क्षेत्रमा सफलतापूर्वक प्रवेश गराउन व्यावहारिक अनुभव अपरिहार्य रहेको कुरामा जोड दिएको छ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रतिनिधि एवं क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले नयाँ र ऊर्जावान प्रतिभाहरूलाई विक्री र प्रशासनिक सिप हासील गर्ने उद्धेश्य का साथ सिप सिक्न आउने विधार्थीहरुलाई स्वागत गर्नका लागी तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै गुल्मी शाखा प्रमुख नविन अर्यालले कम्पनीले युवाहरूलाई बीमा क्षेत्रमा करियरको सम्भावना खोज्न मद्दत गर्नुका साथै आवश्यक तालिम, मेन्टोरसिप र व्यावसायिक विकासका अवसरहरू प्रदान गर्ने प्रतिबद्धता जनाए ।
यस सम्झौताले क्षमता अभिवृद्धि, करियर मार्गदर्शन सत्र र सीप विकास कार्यशालाहरू जस्ता सहकार्यका क्षेत्रहरूलाई पनि समेटेको छ। यस साझेदारीले जिल्लामै वीमा बजार र शैक्षिक क्षेत्रबीचको सहकार्यको एउटा उत्कृष्ट नमुना प्रस्तुत गर्ने र नेपालको वित्तीय एवं कर्पोरेट क्षेत्रको नेतृत्व गर्न सक्ने सक्षम जनशक्ति तयार पार्ने विश्वास दुवै संस्थाले लिएका छन्।












