-
पाँच वर्षमा कम्पनीले रू. कुल ४२.०४ अर्ब प्रथम् बीमाशुल्क आम्दानी गर्दा समर्पण दाबी रू. २६.२९ अर्ब पुगेको छ।
-
पाँच वर्षमा प्रथम् बीमाशुल्क आम्दानीको ६३ प्रतिशत बराबर रकम समर्पण दाबी भुक्तानी देखिएको छ।
काठमाडौं । जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्समा सरेण्डर भ्यालु (समर्पण दाबी) को रकम तीब्र गतिमा बढ्दै गएको छ। नेपाल लाइफले बीमालेख जारी गरेर भित्र्याउने व्यवसायको वृद्धि दरभन्दा अवधि पुरा नहुँदै बीमालेख जफत हुने वा बीमितले बीचमै पैसा फिर्ता लैजाने रकमको वृद्धिदर दोब्बर बढी छ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७७।७८ देखि २०८१।८२ सम्म पाँच वर्षमा कम्पनीले कुल ४२ अर्ब ४ करोड २९ लाख रूपैयाँ प्रथम् बीमाशुल्क आम्दानी गर्दा समर्पण मूल्यवापत २६ अर्ब २९ करोड ७६ लाख रूपैयाँ भुक्तानी गरेको छ। यो अवधिमा बीमालेख समर्पण दाबीको रकमले प्रथम् बीमाशुल्कको ६३ प्रतिशत हिस्सा ओगटेको छ। कम्पनीको व्यवसायीक निरन्तरताका लागि नयाँ (प्रथम्) बीमाशुल्क संकलन गर्नु महत्वपूर्ण भएपनि समर्पण दाबीको रकमले झण्डै ६३ प्रतिशत हिस्सा ओगट्नु चिन्ताजनक अवस्था हो ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा सम्बन्धी तथ्याङ्क पुस्तकमा प्रकाशित तथ्याङ्क अनुसार, कम्पनीको आर्थिक वर्ष २०८१।८२ मा समर्पण दाबीवापतको रकम ८ अर्ब १० करोड १७ लाख रूपैयाँ छ। यो रकम त्यसै वर्ष कम्पनीले संकलन गरेको प्रथम् बीमाशुल्कको ७४ प्रतिशत हो । यति मात्र नभएर सोही वर्ष कम्पनीको प्रथम् बीमाशुल्क आम्दानी जम्मा ३७ प्रतिशतले बढ्दा बीमालेख समर्पण दाबी भुक्तानी ७९ प्रतिशत बढेको छ।
आर्थिक वर्ष २०७७।७८ मा रु ३ अर्ब ८५ करोड रहेको समर्पण मूल्य, आर्थिक वर्ष२०७८।७९ मा बढेर रु ५ अर्ब १ करोड ५४ लाख माथि पुगेको थियो। त्यसपछिका वर्षहरू आर्थिक वर्ष २०७९।८० मा रु ४ अर्ब ७८ करोड ९० लाख र आर्थिक वर्ष २०८०।८१ मा रु ४ अर्ब ५३ करोड ६१ लाखमा झरे पनि आर्थिक वर्ष २०८१।८२ मा भने यो रकम भारी मात्रामा बढेर रु ८ अर्ब १० करोड १७ लाख नाघेको छ।

पाँच वर्षको तथ्याङ्क हेर्दा नेपाल लाइफको बीमालेख समर्पण रकम र नयाँ बीमाशुल्क सङ्कलन दुबैमा ठूलो उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७८।७९ देखि २०७९।८० सम्म नयाँ व्यवसाय आर्जन घट्दै जाँदा समर्पण मूल्य दाबी रकम भने उच्च स्तरमै रहेको थियो, जसका कारण आर्थिक वर्ष २०७९।८० मा नयाँ व्यवसाय बीमाशुल्कको ७१.८३ प्रतिशत बराबरको रकम समर्पण मूल्य भुक्तानीमा बाहिरिएको थियो।
आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले रु १० अर्ब ९८ करोड १५ लाख ७४ हजार प्रथम् बीमाशुल्क (नयाँ व्यवसायवापतको आम्दानी) सङ्कलन गरी व्यावसायिक वृद्धि हासिल गरे पनि सोही वर्ष समर्पण रकम अघिल्लो वर्षको तुलनामा ७८.५९ प्रतिशतले बढेर रु ८ अर्ब १० करोड १७ लाख नाघ्यो।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा समर्पण मूल्यको रकममा बीमालेख जफतवापतको रकम समेत समावेश गरिएको उल्लेख छ। बीमालेख कर्जावापतको रकम भुक्तानी लिएका बीमितलाई कम्पनीले कर्जावापतको ब्याज रकम समयमै भुक्तानी गर्न पूर्व सूचित नगर्दा बीमितले अनजानमै बीमालेखमाथिको हक गुमाउनुपरेको छ।
कम्पनीको पाँच वर्षको तथ्याङ्कले कम्पनीको नयाँ व्यवसायमा वृद्धि भए पनि पुराना बीमालेखहरू समर्पण हुने दर निकै उच्च रहेको देखाउँछ। बीमा कम्पनीमा अभिकर्ताले बीमितको क्रय क्षमताभन्दा बढी रकमको बीमालेख बिक्री गरेमा, बीमितको आवश्यकता अनुसारको बीमालेख खरिद गर्न सुझाव नदिएमा वा जीवन बीमा कम्पनी प्रति बीमितको विश्वास कमजोर भएको अवस्थामा पनि बीमालेख समर्पण बढ्छ।












