काठमाडौं । भारतीय शेयर बजारमा मंगलबार तीव्र गिरावट आएको छ। फलस्वरुप अडानी समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति ४.४४ अर्ब डलरले घट्यो। जसले गर्दा एसियाको सबैभन्दा धनीव्यक्तिको ताज उनले गुमाएका छन्।
ब्लुमबर्गका अनुसार चिनियाँ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङले अडानीलाई उछिनेका छन्। दुवैको कुल सम्पत्ति १०५ अर्ब डलर भए पनि यिमिङको कुल सम्पत्ति दशमलवपछि बढी छ।
अडानी एसियामा दोस्रो स्थानमा र विश्वमा २० औँ स्थानमा झरेका छन्। यस वर्ष अडानीको कुल सम्पत्ति २०.४ अर्ब डलरले बढेको छ। अर्कोतर्फ यिमिङको कुल सम्पत्ति ४०.३ अर्ब डलरले बढेको छ। जसले गर्दा उनी विश्वमा १८औँ स्थानमा छन्।
कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा यिमिङको कुल सम्पत्ति द्रुत गतिमा बढेको छ। यस महिना उनको सम्पत्ति १२ अर्ब डलरभन्दा बढीले बढिसकेको छ।
विश्वको शीर्ष धनाढ्यको सूचीमा एलन मस्क सबैभन्दा अगाडि छन्। उनको कुल सम्पत्ति ८९२ अर्ब डलर छ। यस वर्ष उनको कुल सम्पत्ति २७३ अर्ब डलरले बढेको छ।
यस सूचीमा ल्यारी पेज (२९५ अर्ब डलर) दोस्रो, सर्गेई ब्रिन (२७४ अर्ब डलर) तेस्रो, जेफ बेजोस (२७४ अर्ब डलर) चौथो र माइकल डेल (२५३ अर्ब डलर) पाँचौँ स्थानमा छन्। –एजेन्सी












