काठमाडौं । विश्वभरि बढ्दो प्लास्टिक फोहोरले वातावरणका लागि गम्भीर खतरा निम्त्याउँछ। धेरै दैनिक वस्तु प्लास्टिकबाट बनेका हुन्छन्। जुन फोहोर भएपछि पुनः प्रयोग गर्न धेरै गाह्रो हुन्छ।
यद्यपि, वैज्ञानिकहरुले यसको समाधान फेला पारेका छन्। संयुक्त राज्य अमेरिकाको टेनेसीमा रहेको ओक रिज राष्ट्रिय प्रयोगशाला (ओआरएनएल)का अनुसन्धानकर्ताले यो प्लास्टिकलाई पेट्रोल तथा डिजेलजस्ता इन्धनमा रुपान्तरण गर्ने तरिका पत्ता लगाएका छन्।
वैज्ञानिकहरुले विश्वमा सबैभन्दा धेरै प्रयोग हुने प्लास्टिकहरुमध्ये एक पोलिथिलिनमा आफ्नो प्रयोग गरे। प्रयोगशालामा अनुसन्धानकर्ताले त्यसलाई फोड्न तातो नुनको साधारण मिश्रण प्रयोग गरे। प्रयोगशालामा २०० डिग्री सेल्सियसको तापक्रमले प्लास्टिकलाई रुपान्तरण गर्यो र लगभग ६० प्रतिशत पेट्रोल उत्पादन गर्यो।
वैज्ञानिकहरुका अनुसार २०० डिग्री सेल्सियस धेरै परम्परागत विधिहरुभन्दा धेरै कम तापक्रम हो। यो विधिले प्लास्टिकलाई इन्धनमा रुपान्तरण गर्न आवश्यक पर्ने धेरै घटकको आवश्यकतालाई हटाउँछ।
वैज्ञानिकहरुले कसरी प्रयोग गरे ?
यस प्रक्रियाको केन्द्रमा एल्युमिनियम क्लोराइड भएको पग्लिएको लवण हुन्छ। यी लवणहरु तरल नबन्दासम्म तताइन्छ। ‘हामीले व्यावसायिक रुपमा उपलब्ध अजैविक लवणहरुलाई प्रतिक्रिया माध्यमका रुपमा प्रयोग गर्यौं र पोलिमर फोहोरलाई इन्धनमा रुपान्तरण गर्यौं’, अध्ययनका सहलेखक झेनझेन याङले भने, ‘यो पहिलोपटक हो जब कुनै उत्प्रेरक प्रारम्भकर्ता वा विलायक बिना र २०० डिग्री सेल्सियसभन्दा कम तापक्रममा फोहोरबाट उच्च मूल्यको रसायन उत्पादन गरिएको छ।’
अध्ययन किन महत्वपूर्ण ?
प्लास्टिक सामान्यतया ४५० र ५०० डिग्री सेल्सियसबीचको तापक्रममा टुक्रिन्छ। त्यसकारण २०० डिग्री सेल्सियसको तापक्रम प्रयोग गर्नु महत्वपूर्ण छ। अनुसन्धानकर्ताहरुले पग्लिएको लवणले कसरी काम गर्छ भनेर बुझ्न चाहन्थे। पोलिथिलिन कार्बन र हाइड्रोजन परमाणुहरुको लामो शृंखलाहरु मिलेर बनेको हुन्छ। टोलीले पत्ता लगायो कि पग्लिएको नुनमा रहेका एल्युमिनियम साइटहरु अत्यधिक अम्लीय हुन्छन् र प्रतिक्रियाहरु सुरु गर्न सक्छन्। जसले लामो शृंखलाहरुलाई साना हाइड्रोकार्बन अणुहरुमा फुटाउँछ र त्यस इन्धनमा पाइने कमाउन्ड तयार हुन्छ। –एजेन्सी












