काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
मन्त्रिपरिषदको आज बसेको बैठकले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा आगामी असोज ६ देखि १० गतेसम्म सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो। बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी)को बैठकमा सहभागी हुन नेपाली वार्ताटोली गठन गर्ने निर्णय पनि गरेको छ।
यसैगरी बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ। मन्त्रिपरिषदको बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्साल र सदस्यमा रामशरण सापकोटा तथा महिला सदस्यमा विष्णु घिमिरे (रिमाल)लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
बैठकले प्रशासनिकतर्फ दुईजना सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। मन्त्रिपरिषद्ले सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव र अर्का सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।












