काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि नेपाली सहायक कामदारका लागि आवेदन खुला गरिएको छ।
वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै आवेदन खुला गरेको हो। ती स्याहार केन्द्रमा कुल १ हजार ४६४ जना कामदार माग गरिएको छ। जसमा १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्।
उक्त कार्यका लागि आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक व्यक्तिले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत ferms.dofe.gov.np मार्फत आवेदन दिन सकिनेछ।
छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुनेछ।
विभागका अनुसार कामदारले सातामा ४२ घन्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा १ दिन बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायली सरकारको कानुनअनुसार हुनेछ।
कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्ने विभागले जनाएको छ। तर, बसोबासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।
कामदारको करार अवधि थप गरिएमा अधिकतम ५ वर्षसम्म हुनेछ।
ilovepdf_merged_0vyo3jg












