काठमाडौं । सरकारले जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास अनुदान वापतको पहिलो किस्ता पठाएको छ। आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई पहिलो किस्ताबापत प्रति घरधुरी ५० हजार रुपैयाँ पठाएको हो।
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३ अनुसार लाभग्राही सम्झौतापश्चात आवास अनुदान रकम लाभग्राहीको खातामा भुक्तानी गर्ने प्रावधान छ।
पहिलो किस्ताबाट लाभग्राहीले प्लिन्थ लेभलसम्म आवास निर्माण सम्पन्न गरिसकेपछि निर्माण सम्पन्न गरेको प्राविधिक जाँच पास प्रतिवेदनको आधारमा दोस्रो किस्ता रकम प्राप्त गर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।












