काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री विपद् उद्धार कोषमा शुक्रबार साँझसम्म रु ३.५ अर्ब सङ्कलन भएको जानकारी दिएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले फेसबुक पेजमार्फत् दिएको जानकारी अनुसार, विभिन्न क्षेत्रबाट नगद सहयोग प्राप्त हुने क्रम जारी रहेकोमा शुक्रबार साँझसम्ममा ३ अर्ब ५० करोड रूपैयाँ सङ्कलन गरिएको छ। मन्त्री वाग्लेका अनुसार, विदेशी मुद्राको कार्डमार्फत् करिब ३० करोड रूपैयाँ सहयोग राशी जुटेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि यो रकम खर्चिने सरकारले जानकारी दिएको छ।
राहत कोषमा जम्मा गरिने रकम वार्षिक करयोग्य आयबाट घटाउन पाउने सुविधा समेत सरकारले उपलब्ध गराएको छ।












