काठमाडौं । नेपाली बजारमा बीवाइडी ब्राण्डको चिनियाँ विद्युतीय सवारीसाधन बिक्री गरिरहेको साइमेक्स इन्कले प्रधानमन्त्री विपद् उद्धार कोषमा सात करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
कम्पनी अध्यक्ष यमुना श्रेष्ठले विज्ञप्तीमार्फत् बाढी प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाको सरकारी अभियानमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सहयोग राशी उपलब्ध गराउन लागिएको जानकारी दिइन्।
यसैबीच बीवाइडी ग्रुपका उपाध्यक्ष लिउ झुवेलियाङले संकटका बेला नेपाललाइ साथ दिन पछि नपर्ने प्रतिबद्धता जनाएका छन् । उनले रसुवा नाकामार्फत् चिनियाँ विद्युतीय सवारी साधन नेपाल भित्रिने गरेको प्रसङ उल्लेख गर्दै भनेका छन्, ‘रसुवा हाम्रो लागि केवल एउटा नाका मात्र होइन, हाम्रो यात्रासँग जोडिएको एउटा महत्वपूर्ण अध्याय हो। यही रसुवाबाट हाम्रो विद्युतीय सवारीको यात्रा अघि बढेको थियो र आज यही ठाउँमा यति ठूलो विपत्ति आइपर्दा हामी अत्यन्त दुःखी र चिन्तित छौँ।’
उनले भनेका छन्, रसुवाले हाम्रो यात्रालाई सुरु गर्न साथ दिएको थियो। आज रसुवालाई हाम्रो साथ चाहिएको बेला हामी पनि पछाडि हट्ने छैनौँ। हामी सँगै थियौँ, सँगै छौँ र यो कठिन समय पनि सँगै पार गर्नेछौँ। रसुवाको पुनःउत्थानका लागि हाम्रो साथ र प्रतिबद्धता निरन्तर रहनेछ।












