काठमाडौं । दुई समुदायबीच सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ मा भएको झडपमा ज्यान गुमाएका यूवकको परिवार र नेपाल सरकारबीच बिहीबार राति सात बुँदे सहमति भएको छ।
साउन १० गते अाइतबार राती भएको झडपमा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारजन र गृह मन्त्रालयबीच गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा सम्झौता भएको हो ।
सम्झाैतामा मृतकद्वयलाई नेपाल सरकारले शहीद घोषणा गर्ने प्रकृया तत्काल अगाडि बढाउने र मृतकको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको छानबिन गरी दोषीउपर प्रचलित कानून बमोजिम तत्काल कानूनी कारवाही अगाडि बढाउने दुई पक्षबिच सहमति भएको छ ।
मृतकका परिवारको एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने , घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरूलाई यथाशीघ्र कार्यान्वयन गर्ने र मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।
सम्झौता पत्रमा पीडित परिवारको तर्फबाट ओम प्रकाश मेहताका अभिभावक कृष्ण देव मेहता र जय प्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् । दुबै पक्षबीच सहमतिसँगै मृतकद्वयको शव शुक्रबार दिउँसो अन्तिम संस्कार गरिने भएको छ।
गत आइतबार राति साउने सोमबारको पूर्व सन्ध्यामा स्थानीय हिन्दू यूवाहरू डिजे लाउड स्पिकर बजाउँदै देवानगञ्जको मुश्लिम समुदायको बस्ती हुँदै सप्तकोशी नदीतर्फ जल लिन जाने क्रममा दुबै पक्षबीच विवाद भएको थियो। यो विवादमा हस्तक्षेपका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि प्रहरीले झडप नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा १ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने प्रहरीसहित २४ जना घाइते भएका थिए ।
सो झडपपछि गाउँलेले दोषीविरूद्ध कारवाही र शान्ति सुरक्षाको सुनिश्चितताको माग गर्दै शुरू गरेको आन्दोलन मधेश प्रदेशका सातवटै जिल्लामा फैलिएको थियो। सिराहाको गोलबजारमा निजी सम्पत्ति तोडफोड र आगजनीको घटना नियन्त्रणमा लिन बिहीबार दिउँसो प्रहरीले गोली चलाउँदा एक यूवकको घटनास्थलमै ज्यान गएको थियो । मधेशको धनुषा, पर्सा, सिराहा जिल्लामा स्थिति नियन्त्रणमा लिन बिहीबारदेखि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा घोषणा गरेका छन् ।












