काठमाडौं । वीरगञ्ज नारायणी उपक्षेत्रिय अस्पतालमा चिकित्सकमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घले बुधबार(भोली) देशैभर अस्पतालहरूमा इमरजेन्सी (आकस्मिक) बाहेकका सबै सेवा हड्ताल घोषणा गरेको छ ।
नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि बिरामीका अाफन्तजनले चिकित्सक र स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरेपनि दोषीविरूद्ध कारवाहीमा सरकारले चासो नदेखाएको भन्दै संघले देशैभरका अस्पतालहरूमा स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
अस्पतालमा उपचारका क्रममा गत शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ निवासी राजकुमार पटेलको निधन भएको थियो। उनको उपचारका लापरवाही भएको आरोप लगाउँदै मृतकका आफन्तजनले डा. प्रमोद राम तथा अन्य स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरेका थिए ।
मंगलबार संघको केन्द्रीय कार्यालयमा मंगलबार बसेको आकस्मिक बैठकले बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
घटना भएको चार दिन भएपनि गृहमन्त्रालयले दोषीलाई पक्राउ गरी कारवाही गर्न चासो नदेखाएको भन्दै चिकित्सकले विरोध जनाएका छन् । संघले विज्ञप्तीमा भनेको छ, दोषीमाथि कारवाही गर्नुको साटो, न्याय माग्न गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गर्नु ‘अत्यन्तै लज्जास्पद’ घटना हो ।
भोलि बिहान १० बजे काठमाडौँ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्नेछन् । त्यस्तै, उपत्यका बाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध जनाउने कार्यक्रम घोषणा गरिएको छ ।
फाइल तस्वीर












