काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ट्रष्ट माइक्रो इन्स्योरेन्सको इस्युअर रेटिङ ‘डबल बी माइनस’ पुनः पुष्टि गर्दै यसअघि राखिएको नकारात्मक असरसहितको निगरानीबाट हटाएको छ। यस रेटिङले कम्पनी वित्तीय दायित्व पूरा गर्ने मामिलामा मध्यम जोखिमको श्रेणीमा रहेको दर्शाउँछ।
गत वर्ष भदौ २३ र २४ गते भएको दंगा तथा अशान्तिका कारण भएको क्षतिबाट परेका दाबीहरु सहन सक्ने क्षमता कम्पनीको तरलता र वासलातमा सुधार आएको रेटिङ एजेन्सीले जनाएको छ। २०८२।८३ असार मसान्तसम्ममा कम्पनीमा ११ वटा दाबीमार्फत करिब ७१ लाख ५० हजार रुपैयाँको दाबी परेको थियो। मूल्यांकनकर्ताहरुको अन्तिम प्रतिवेदनअनुसार पुनर्बीमा हिस्साबाहेक कम्पनीले आफ्नो कोषबाट करिब १९ लाख ७० हजार रुपैयाँमात्र व्यहोर्नुपर्ने अनुमान छ।
कम्पनीको सोल्भेन्सी मार्जिन १.९८ गुणा रहेको छ। यो नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम १.३ गुणाभन्दा बढी हो। यो कम्पनीले करिब २२ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने योजना बनाएको छ। जसले सोल्भेन्सी र पुँजीको आधारलाई थप सुदृढ बनाउनेछ।
कम्पनीले सन् २०२४ मार्चदेखि व्यावसायिक कारोबार सुरु गरेयता छोटो समयमै आफ्नो सञ्जाल तीव्र रुपमा विस्तार गरेको छ। कम्पनीको प्रधान कार्यालय, प्रादेशिक कार्यालय, शाखा, उपशाखा र एक्सटेन्सन काउन्टर गरी कुल ३३ वटा सेवा केन्द्रमार्फत उपस्थिति जनाएको छ।
सफारी इन्भेस्टमेन्ट र विप्रोली फिनकर्प, रिजेन्सी फिनकर्प र साइन रेसुंगा डेभलपमेन्ट बैंक मुख्य संस्थापक रहेको यस कम्पनीको नेतृत्व बीमा क्षेत्रमा ३६ वर्षभन्दा बढी अनुभव भएका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले गरिरहेका छन्। लघु निर्जीवन बीमा बजारमा कम्पनीको कुल बीमाशुल्क आम्दानीमा २४ प्रतिशत र खुद बीमाशुल्क आम्दानीमा बजार हिस्सा २५ प्रतिशत पुगेको छ।
इन्फोमेरिक्स नेपालका अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्सको कुल बीमाशुल्क आम्दानीको ९० प्रतिशतभन्दा बढी हिस्सा मोटर बीमा क्षेत्रबाट मात्रै आउने भएकाले पोर्टफोलियो विविधीकरणको कमी देखिएको छ। बीमा प्राधिकरणले लघु बीमा बीमाका लागि प्रतिबीमालेख अधिकतम ५० लाख रुपैयाँको बीमांक रकमको सीमा तोकेकाले तत्काल व्यवसाय विस्तारमा चुनौती छ। अन्य ३ वटा लघु निर्जीवन बीमा कम्पनीका साथै लघु बीमा क्षेत्रमा समेत सेवा दिइरहेका १४ वटा ठूला निर्जीवन बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ।
सुरुआतको चरणमा रहेकाले प्रशासनिक खर्च उच्च रहँदा र व्यवस्थापन खर्च धेरै हुँदा खुद नाफा दर ०.५ प्रतिशत देखि १ प्रतिशतको हाराहारीमा सीमित छ। आगामी दिनमा तीव्र प्रतिस्पर्धा र नियामक सीमाका बीच व्यवसायको आकार बढाउँदै नाफा र पुँजीका आधार सन्तुलित राख्नु ट्रष्ट माइक्रो इन्स्योरेन्सको मुख्य परीक्षा हुने रेटिङ प्रतिवेदनमा उल्लेख छ।












