काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘अर्ग्यानिक एसोसियसन नेपाल’का पदाधिकारीसँग छलफलमा यस्तो बताएका हुन्। अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अग्र्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने पदाधिकारीको मागबमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिए।
यसका साथै प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए। प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान दिने व्यवस्था गर्न पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए।












