काठमाडौं । टाटा जेन्युइन पार्ट्सको आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेडले आफ्ना च्यानल पार्टनरहरूको दोस्रो पुस्ता (नेक्स्ट जेनेरेसन) लाई लक्षित गरी ‘च्यानल पार्टनर्स आन्टरप्रेन्योरसिप डेभलपमेन्ट २०२६’ तालिम सुरु गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यस विशेष उद्यमशीलता विकास तालिमको औपचारिक शुभारम्भ गरिएको हो ।
सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य स्थापित अटोपार्ट्स व्यवसायलाई निरन्तरता दिनु, पुस्तान्तरण प्रक्रियालाई सहज बनाउनु र नयाँ पुस्ताका युवाहरूलाई विदेश पलायन हुनबाट रोकी स्वदेशमै उद्यमशीलताका प्रचुर सम्भावनाहरू पहिल्याउन मार्गदर्शन गर्नु रहेको छ ।
तालिमको उद्घाटन सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी र जनरल म्यानेजर (एचआर) शारदा रानाले संयुक्त रूपमा गरेका थिए । पहिलो चरणको यस कार्यक्रममा ९ जना च्यानल पार्टनरका उत्तराधिकारी युवा व्यवसायीहरूको सहभागिता रहेको छ। कार्यक्रममा सहभागी युवाहरूले आफ्ना व्यावसायिक दृष्टिकोण, अपेक्षा र योजनाका बारेमा धारणा राखेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिप्रदीका पदाधिकारीहरूले नेपालको अटोपार्ट्स व्यवसायलाई थप व्यवस्थित, डिजिटल र आधुनिक बनाउन नयाँ पुस्ताको भूमिका महत्त्वपूर्ण हुने बताए । ‘युवाहरू वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश जानुको सट्टा स्वदेशमै रहेर आफ्नै रैथाने व्यवसायलाई आधुनिक प्रविधि र नवीन सोचका साथ अगाडि बढाए देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ,’ उनीहरूले भने, ‘स्थापना कालदेखि सञ्चालनमा रहेका व्यवसायको जगमा उभिएर त्यसलाई नयाँ उचाइमा पुर्याउन यो तालिम एक कोसेढुङ्गा सावित हुनेछ।’
सिप्रदी अटोपार्ट्सले आगामी दिनमा यो तालिमलाई देशभरिका अन्य च्यानल पार्टनरका भावी उत्तराधिकारीहरूमा समेत विस्तार गर्ने दीर्घकालीन योजना बनाएको छ । यस तालिमले भावी मालिक तथा व्यवस्थापकहरूलाई टाटा जेन्युइन पार्ट्सको बजार बुझ्न, वैज्ञानिक तरिकाले व्यवस्थापन गरी नाफा बढाउन र डिजिटल प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तारको ठोस योजना बनाउन पूर्ण रूपमा सक्षम बनाउने अपेक्षा गरिएको छ।












