काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिलीरत्न श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ। यो मध्ये ६ महिनाको अतिरिक्त सजाय उनी सार्वजनिक पदमा रहेर भ्रष्टाचार गरेवापत थपिएको हो।
भ्रष्टाचारी ठहर गरिएका पाैडेलले गैरकानूनीरूपमा आर्जन गरेको १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न र बिगो बमोजिमको जरिवाना तिराउन समेत अदालतले फैसला गरेको छ। यस अतिरिक्त उनले अपराध पीडित संरक्षण ऐन बमोजिम ५१ लाख २ हजार ८०९ रूपैयाँ क्षतिपूर्ति शुल्कसमेत तिर्नुपर्नेछ ।
यो मुद्दामा पौडेलका भाइ अनिललाई पनि प्रतिवादी बनाइएपनि उनको संलग्नताको स्पष्ट आधार फेला नपरेपछि अनिलको नाममा रहेका सम्पत्ती जफत नगर्न अदालतले आदेश दिएको छ ।
पाैडेलले अार्जन गरेको मध्ये दुई करोड २१ लाख रुपैयाँको मात्र आर्जनको श्रोत खुलेको छ। बाँकी १२ करोड ३६ लाख रुपैयाँ भ्रष्टाचारबाट अार्जन गरिएको सम्पत्ति भएको विशेष अदालतको ठहर छ ।
पौडेल यसअघि नै डिजिटल भुक्तानी सञ्जाल(पेमेन्ट गेटवे) भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर भइसकेका छन् ।












