काठमाडौं । नेपाल आयल निगमले बजारमा पुनः पूर्ण तौल अर्थात् १४.२ किलोग्राम कै एलपी ग्याँस सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ। निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि देशभर साबिककै १४.२ केजीको ग्याँस सिलिन्डर बिक्री खुला गर्ने जानकारी दिएको हो।
यसअघि ग्यासको अभाव टार्न र आपूर्ति सहज बनाउन निगमले २०८२ फागुन २९ गतेदेखि आधा तौल अर्थात् ७.१ किलोग्रामको सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको थियो।
हाल इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्याँस लोड हुने अवस्थामा सुधार आएको र उपभोक्ताहरूबाट पनि पूर्ण तौलकै सिलिन्डरको उच्च माग भएपछि निगमले यो नयाँ व्यवस्था मिलाएको हो।
१४.२ केजीको पूर्ण ग्यास सिलिन्डरको मूल्य प्रति सिलिन्डर रु. २ हजार साठी तोकिएको छ।
बजारमा ७.१ केजीका सिलिन्डरहरू पूर्ण रूपमा प्रतिस्थापन हुन केही समय लाग्ने भएकाले अहिले बजारमा ७.१ केजी र १४.२ केजी दुबै थरिका सिलिन्डर उपलब्ध हुन सक्छन्। उपभोक्ताहरूलाई ग्याँस खरिद गर्दा तौल र मूल्य यकिन गरेर मात्र लिन निगमले अनुरोध गरेको छ।
उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्याँस खरिद गर्न र अनावश्यक रूपमा घरमा भण्डारण नगर्न समेत निगमले आग्रह गरेको छ।












