IME Life New

रचनाको संघर्ष : ईखले दिइन् कामलाई विशेष लगाव, अभिकर्ता पेसाबाट पाइन् उच्च सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मकवानपुरको पहाडी गाउँमा जन्मेकी हुन्, रचना अर्याल। बाल्यकाल गाउँमै र शिक्षा गाउँकै सरकारी स्कुलमा बित्यो। पछि मकवानपुर बहुमुखी क्याम्पसबाट ब्याचलर सकिन्। लगत्तै काठमाडौंबाट बिहेको कुरा आयो। स्नातकोत्तरको पढाइ काठमाडौंमै गर्ने सर्तमा विवाहको कुरा छिनियो। सहरबाट कुरा आएपछि रुप–रङले धपक्क रचनालाई बिहे गरी राजधानी पठाए परिवारले।

विवाहपछि घर–व्यवहारमा विस्तारै व्यस्त हुन थालिन्। परिवारमा सासु–ससुरा जेष्ठ नागरिक भइसकेका, जेठाजु व्यापारी, जेठानी नर्सका रुपमा हस्पिटलमा काम गर्ने र श्रीमान बैंकको जागिरे। सबै व्यस्त थिए। घरको काम गर्ने जिम्मा रचनाको भागमा पर्यो।

Esewa
Crest

घरको कामले स्नातकोत्तर गर्ने चाहना अधुरै रह्यो रचनाकोे। बेला–बेला परिवारमा पढ्ने चाहना व्यक्त नगरेकी होइनन्। तर, श्रीमान र परिवारका अन्य सदस्यले अब पढ्नु पर्दैन, घर–व्यवहार सम्हाल भनेर थप पढ्ने ढोका बन्द गरिदिए।

घरको काम गर्दा कहिल्यै जस पाइनन्। परिवारका सदस्यले कमाउनेलाई राम्रो मान्ने त चलनै भयो। उनको जीवनमा पनि यस्तै भयो। सासुको वचन दिनहुँ सहनुपर्ने। यसको काम छैन, बसी–बसी खान पाएकी छ भन्ने वचन दिनहुँ सुन्नुपथ्र्यो। वास्तवमा बिहान सबेरै उठेर कुच्चो लगाउने, चुलो–चौका गर्ने, घर–भान्छा सफा गर्दा एकछिन फुर्सद हुँदैन थियो, उनको। अरुले झट्ट हेर्दा भने सम्पत्ति भएको धनी परिवार, जिन्दगी राम्रो देखिन्थ्यो। तर भित्र… एक श्रमिक महिलाजस्तो।

श्रीमानबाट पनि त्यति धेरै माया पाइनन्। समय बित्दै गयो। एउटा छोरा जन्मियो। छोरा हुर्किंदै गर्दा मन्टेश्वरीमा भर्ना गरिन्। मन्टेश्वरीमा कलेज पढ्ने सहपाठी रिनासँग भेट भयो। विस्तारै फेरि पुरानो सम्बन्धलाई ताजा गर्दै रिनासँग नजिक भइन्। भेटघाट बाक्लिदै जाँदा मनमा भएका बोझ एक–आपसमा साटासाट गर्न थाले।

रिनाले मन्टेश्वरीको कामका साथै जीवन बीमा कम्पनीमा अभिकर्ता भई काम गर्दथिन्। रचनालाई यो कुरा बताइन्। आफ्नो अनुकूल समयमा जुनसुकै बेला काम गर्न सकिने र काम गर्न सके यसबाट मनग्य आम्दानी हुने पनि थाहा पाइन्। रिनाकै पछि लागेर तालिम लिई रचना पनि अभिकर्ता बनिन्।

जीवन बीमाका बारेमा बुझिन् र बुझाउन सक्ने भइनन्। साथीभाइ र आफन्तबाट जीवन बीमा गराउन सुरु गरिन्। जीवन बीमा कम्पनीका कर्मचारीहरुले पनि खुबै साथ अनि सहयोग गरे।

साथीभाइ र आफन्तबाट सुरु गरेको जीवन बीमा व्यवसायको दायरा ठूलो बनाउँदै लगिन्। परिवारको अपहेलनाको ईखले गर्दा काममा विशेष लगाव दिँदै जाँदा राम्रो आम्दानी हुन थाल्यो। काममा दत्तचित्त भएर लाग्दा छोटो समयमै सफलता हासिल गर्न थालिन्।

जीवन बीमा व्यवसायमा आबद्ध भएको २ वर्षभित्रै कम्पनीको उत्कृष्ट १० जना अभिकर्ताभित्र परिन्। अभिकर्ताको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीका लागि योग्य पनि भइन्। जसले गर्दा आम्दानी पनि राम्रो हुँदै गर्दा परिवारको उनीप्रति हेर्ने दृष्टिकोण फेरिन थाल्यो। फेरि सबैकी प्यारी बन्न थालिन्।

अभिकर्ताको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीका लागि योग्य भएका अभिकर्तालाई श्रीमान–श्रीमती नै उपस्थित हुन पाउने गरी जीवन बीमा कम्पनीले सम्मान कार्यक्रम राख्यो उपत्यका बाहिर। उनले कार्यक्रममा श्रीमानलाई विशेष आग्रह गरी लिएर गइन्। सुरुमा जान इन्कार गरेका श्रीमानले रचनाको करका कारण ४ दिनको बिदा मिलाई कार्यक्रमस्थल गए।

कार्यक्रम भव्य रुपमा सञ्चालन भइरहेको थियो। देशकै उत्कृष्ट होटलमा, उत्कृष्ट सेवा सत्कारका साथ। कार्यक्रमको झकिझकाउले उल्लासमय माहोल बनिरहेको थियो। देशैभरिबाट आएका उत्कृष्ट अभिकर्ताहरुको जमघट। कम्पनीका उच्च व्यवस्थापकहरुको सहभागिता।

यो रंगिन माहोलमा अन्य विभिन्न हर्षोल्लास कार्यक्रम सकिएपछि सुरु भयो विशेष आकर्षण सम्मान कार्यक्रम। एमडीआरटीका लागि योग्य अभिकर्ताहरुको बायोग्राफी ठूलो पर्दामा झल्कियो। पञ्चेबाजाले बसेको स्थानबाटै रेड कार्पेटमा गार्डसहित स्टेजसम्मै स्वागत। यो रौनक माहोलले भावविहल थिए, उनका श्रीमान। जब रचना स्टेजबाट अवार्ड थाप्नु अघि केही बोल्न खोजिन्, उद्घोषकले माइक दिए। उनले यो सम्मान श्रीमान र परिवारको नाममा समर्पण गर्ने र यही उपस्थित श्रीमानलाई स्टेजमा अवार्ड लिन आउन आग्रह गरिन्।

सबैको आँखा खुसीले रसाए। श्रीमान गहभरि आशु थाप्दै स्टेजमा पुगे। अनि श्रीमतीको हातबाट माइक लिई भन्न थाले, ‘मैले मेरो १५ वर्षे बैंकिङ क्यारिअरमा कहिलै यो स्तरको सम्मान पाइनँ, धन्य छिन्, मेरी श्रीमती।’ तारिफ गर्दै उनले भने, ‘श्रीमती भनेको त यस्तो हुनुपर्छ।’

कार्यक्रम समापन भएपछि काठमाडौं फर्किए। त्यसपछि श्रीमानबाट यति धेरै माया, साथ, सपोर्ट पाउन थालिन कि सायदै यो संसारमा कसैले पाएको होस्।

श्रीमानको बैंकको जागिर अनि श्रीमतीको अभिकर्ता पेसा। राम्रो आम्दानी, आत्मसन्तुष्टि, मान सम्मान सबै कुरा भरिपूर्ण हुँदै गयो। त्यसैले त रचना भन्छिन्, ‘जीवन बीमा गर्दा बीमितको आर्थिक जोखिम बहन हुने हुनाले यो समाजसेवी पेसा हो। अभिकर्ता पेसा मान–सम्मान र उत्कृष्ट आम्दानी गर्न सकिने पेसा हो।’ आज देशभरका अभिकर्तामाझ उनी एक उदारणिय पात्र बनेकी छन्।

(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS