IME Life New

अभिकर्ताले सामाजिक सञ्जालमा डिस्काउन्ट र अफरजस्ता भ्रामक शब्द प्रयोग गरेर ठग्दै बीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीमा आबद्ध बीमा अभिकर्ताले बीमालेख बिक्रीका लागि सर्वसाधारणलाई सूचित बनाउनेभन्दा पनि छुट, अफरजस्ता विज्ञापन शैलीका शब्दहरुको प्रयोग गरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने प्रवृत्ति बढेको छ।

यस्तो गतिविधिमा शीर्ष स्थानका जीवन बीमा कम्पनीमा आबद्ध पुराना, अनुभवी र नाम चलेका भनिएका अभिकर्ता नै संलग्न पाइएको छ। इन्स्योरेन्स खबरले साामाजिक सञ्जाल फेसबुक र टिकटकमा फेला पारेको केही भिडियोमा डिस्काउन्ट अफर र बीमाशुल्कमा १० प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट भन्ने भ्रामक शब्दहरुको प्रयोग गरेको पाइएको छ।

Esewa
Crest

अभिकर्ताले व्यावसायिक आचारसंहिताविपरीत ‘छुट’ र ‘अफर’ जस्ता शब्दावलीको प्रयोग गरेर सर्वसाधारणलाई भ्रमित पार्दै बीमालेख बेच्नु ठगी गर्नुसरह हो।

सामाजिक सञ्जालमा भेटिने अधिकांश अभिकर्ताहरु बीमाबारे सर्वसाधारणलाई सचेत बनाउने, महत्व बुझाउने, प्राविधिक पक्षहरु, दाबी, बीमालेख कर्जा, अग्रिम भुक्तानी, जीवित लाभ, बीमाशुल्क किस्तालगायतका आधारभूत विषयवस्तुमा अवगत गराउनेभन्दा पनि सीधै आफ्नो कम्पनीको बीमालेख प्रचार गर्नमै केन्द्रित पाइएको छ। यसले सर्वसाधारणले कहिल्यै बीमाबारे नबुझेरै बीमा गर्नुपर्ने अवस्थामा बाध्यतापूर्ण रुपमा धकेलिएका छन्।

यहाँ हेरौँ सामाजिक सञ्जालमा भेटिएका भ्रामक प्रचार शैलीका सामग्रीमा उल्लेख गरिएका शब्दहरुः

नाम चलेका वरिष्ठ अभिकर्ताले भ्रमित पार्न खोजेका छन्ः डिस्काउन्ट अफर, जीवन बीमा गर्दा कम्पनीकै तर्फबाट पाउनुहुनेछ १ करोड रुपैयाँको जीवन बीमा गर्दा १५ लाख रुपैयाँ छुट!

अर्की एक अभिकर्ताले भनेको सुनिन्छः सुनौलो बीमा गराउँदा बीमाशुल्कमा १० प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट !

अर्को एकजना अभिकर्ता आफ्नो कार्यालयबाट टिकटक अकाउन्टमा भिडियो पोस्ट गर्दै भनेको सुनिन्छः १० वर्षको बीमाका लागि ४ वर्षमात्र किस्ता तिर्नुपर्छ, वार्षिक किस्ता १ लाख २५ हजार रुपैयाँको दरले किस्ता तिरे पुग्छ। तपाइँले १० वर्षपछि ९ लाख २० हजार रुपैयाँ बोनस पनि पाउनुहुन्छ। २० लाख रुपैयाँको जोखिम बहन हुन्छ।

ती अभिकर्ताले ४ वर्ष मात्र किस्ता तिर्नुपर्छ भन्ने भ्रामक जानकारी दिएकी छिन्। उनले सर्वसाधारणले नबुझिने गरी मनि ब्याक अर्थात् अग्रिम भुक्तानीवापतको रकमलाइ नै बीमाशुल्क किस्तामा प्रयोग गर्ने विषय उल्लेख गरेकी छिन्। यो बारेमा उनले बीमाङ्कवापतको रकम नै बीमाशुल्कको किस्ता तिर्न प्रयोग हुने विषयबारे प्रष्टरूपमा जानकारी दिएकी छैनन्।

टिकटकमा फेला परेको जीवन बीमा सम्बन्धी भ्रामक सामाग्री

यहाँ दिइएको तस्बिरमा झैँ बीमितलाई अग्रिम भुक्तानीबापतको रकमलाई तेस्रो किस्तादेखि नै वार्षिक बीमाशुल्क किस्तामा समायोजन गरिने भन्ने जानकारी टिकटकको भिडियोमा कहीँकतै समावेश गरिएको छैन। सिधै जम्मा लगानी ९ लाख रुपैयाँमा २० लाख रुपैयाँको बीमा भनेर प्रचार गरिएको छ।

बीमा अभिकर्ताको आचारसंहिताको अभिकर्ताले गर्न नहुने कामको सूचीमा कुनै पनि ‘बीमितलाई प्रलोभनमा पार्न’ भन्ने उल्लेख छ। यस्तो व्यवस्था हुँदाहुँदै पनि बीमितलाई प्रलोभनमा पारेर बीमालेख बिक्री गर्ने प्रवृत्तिमा नेपाल बीमा प्राधिकरणले अंकुश लाग्न सकेको छैन।

पेसागत बीमा अभिकर्ता संघका अध्यक्ष ओम केसीले आफूहरुले केही अभिकर्ताहरुबाट बीमा उत्पादनको गलत ढंगले प्रचार–प्रसार भइरहेकोमा बीमा प्राधिकरणलाई बारम्बार ध्यानाकर्षण गराइरहेको बताए। ‘हामीले त्यस्तो कार्य रोक्न र बीमितलाई ठगिनबाट जोगाउन प्राधिकरणले उचित कदम चाल्नुपर्ने भन्दै आएका छौँ’, उनले भने, ‘त्यस्ता कार्यहरुमाथि बेलैमा अंकुश नलगाए भविष्यमा ठूलो समस्या आउन सक्छ।’

संघले बेला–बेला अभिकर्ताहरुलाई आफ्नो पेसाप्रति इमान्दार हुन र बीमा उत्पादनबारे बीमितलाई सही ढंगले जानकारी गराउन पनि भन्दै आएको केसीले बताए। ‘संघका तर्फबाट हामीले गलत ढंगले बीमालेख बिक्री रोक्न प्रयास जारी छ। प्राधिकरणले पनि नियमसंगत ढंगले बीमा उत्पादन बिक्री गर्न अभिकर्ताले सचेत गराउन आवश्यक छ। कम्पनीहरुले व्यापारलाई ध्यानमा दिनेभन्दा पनि बीमितको हितमा काम गर्न आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS