काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीमा सक्रिय सेवा प्रदायक, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले भिसा (Visa) को ‘ग्लोबल रजिस्ट्री अफ सर्भिस प्रोभाइडर्स’ मा आधिकारिक रूपमा सूचीकृत भएको छ।
यससँगै एससीटी भिसाबाट मान्यता प्राप्त एक्सेस कन्ट्रोल सर्भर सेवा प्रदायक बनेको छ। एससीटीले हालै मात्र ‘PCI 3DS’ प्रमाणीकरण प्राप्त गरेको थियो। यो दुबै उपलब्धि नेपाली भुक्तानी प्रणाली र सुरक्षा पूर्वाधारको क्षेत्रमा एउटा ऐतिहासिक कोशढुङ्गा साबित हुने देखिएको छ।
यसअघि नेपालमा कुनै पनि स्वदेशी कम्पनीसँग यस्तो प्रमाणित एसीएस सेवा उपलब्ध थिएन। जसका कारण नेपालका अधिकांश वाणिज्य बैंकहरूले अन्तर्राष्ट्रिय बिक्रेताहरूमा भर पर्नुपर्ने बाध्यता थियो। यसले गर्दा नेपाली एटिएम र क्रेडिट कार्ड प्रयोगकर्ताहरूको संवेदनशील वित्तीय विवरणहरू विदेशमा रहेका डाटा सेन्टरहरूमा भण्डारण र व्यवस्थापन हुने गरेको थियो।
एससीटीको यो नयाँ उपलब्धि पश्चात् अब नेपाली बैंकहरूले यो महत्त्वपूर्ण सुरक्षा सेवा अब स्वदेशमै प्राप्त गर्न सक्नेछन् । नेपाली नागरिकको संवेदनशील वित्तीय विवरणहरू सुरक्षित रूपमा नेपालकै राष्ट्रिय सिमाना भित्र व्यवस्थापन र भण्डारण हुने सुनिश्चित भएको छ।
एससीटीले तयार पारेको यो पूर्वाधार नेपाली बजारका लागि मात्र सीमित नभई वैश्विक स्तरको रहेकाले विश्वभरका जुनसुकै भिसा सदस्य संस्थाहरूले एससीटीको प्रमाणित एसीएस सेवा उपयोग गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले जानकारी दिएका छन् ।
प्रमुख कार्यकारी अधिकृत घिमिरेले लिङ्कड इन पोष्टमा लेखेका छन्,यो सेवा पूर्ण रूपमा स्वतन्त्र र खुला रहेकाले हाल एससीटी नेटवर्कमा आबद्ध नरहेका बैंक तथा वित्तीय संस्थाहरूले पनि यसको सहजै प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
यो प्रविधिलाई चुस्त राख्न एससीटीले २४सै घण्टा सञ्चालनमा रहने सहायता केन्द्रको व्यवस्था गरेको छ। जसले विश्वभरका ग्राहक र कार्डधारकहरूलाई तत्काल समस्या समाधान र निरन्तर प्राविधिक सहायता प्रदान गर्नेछ।












