काठमाडौं । अग्रणी फिनटेक कम्पनी आईएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आइ क्लिनिकबीच सम्झौता भउको छ । कर्मचारीहरूको स्वास्थ्य र कल्याणलाई ध्यानमा राख्दै ‘कर्पोरेट वेलनेस’ सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
पानीपोखरीस्थित आईएमई खल्तीको कार्यालयमा भएको यस सम्झौताको मुख्य उद्देश्य कम्पनीमा कार्यरत कर्मचारीहरू र उनीहरूका परिवारलाई विशेष आँखा उपचार सुविधा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ । यो सहकार्यमार्फत दुवै संस्थाले कर्मचारीको कार्यक्षमता र स्वास्थ्यलाई थप प्रभावकारी बनाउने विश्वास लिएका छन् ।
यस सम्झौताअन्तर्गत आईएमई खल्तीका कर्मचारीहरूले भिजन कन्सर्नका लाजिम्पाट, बौद्ध र माकलबारीस्थित शाखाहरूमा विशेष स्वास्थ्य सुविधाहरू प्राप्त गर्नेछन् ।
कर्मचारीहरूले ती शाखाहरूमा निस्शुल्क व्यापक आँखा परीक्षण, निस्शुल्क चिकित्सक परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्टको सुविधा पाउने व्यवस्था मिलाइएको छ । यसले कर्मचारीहरूलाई समयमै र सहज रूपमा स्वास्थ्य सेवा लिन मद्दत पुग्नेछ ।
स्वास्थ्य सेवाका अतिरिक्त कर्मचारीहरूलाई आर्थिक सहुलियतको समेत व्यवस्था गरिएको छ । जसअनुसार कर्मचारीहरूले छनोट गरिएका अप्टिकल उत्पादनहरूमा ४० प्रतिशतसम्म र ब्रान्डेड फ्रेमहरूमा २० प्रतिशत छुट पाउनेछन् ।
साथै, प्रिस्क्रिप्सन गिलास र कन्ट्याक्ट लेन्सहरूमा समेत विशेष कर्पोरेट मूल्य उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । यसले कर्मचारीहरूलाई गुणस्तरीय दृष्टि सामग्रीहरू किफायती मूल्यमा प्राप्त गर्न सहयोग गर्नेछ ।
सहकार्यको अर्को महत्वपूर्ण पाटोका रूपमा भिजन कन्सर्नले आईएमई खल्तीका कर्मचारीहरूका लागि डिजिटल आँखा थकान सम्बन्धी विशेष जनचेतना कार्यक्रम पनि सञ्चालन गर्नेछ ।












