काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरतासम्बन्धी रुपरेखाको मस्यौदा सार्वजनिक गरेको छ। प्राधिकरणले मस्यौदालाई अन्तिम रुप दिएर जारी गर्नुअघि सरोकारवालासँग राय–सुझावसमेत माग गरेको छ।
मस्यौदामा बीमा साक्षरताका लागि मुख्य रुपमा तीनवटा पक्षको भूमिकामा प्राधिकरणले जोड दिएको छ। बीमा प्राधिकरण, बीमा कम्पनी र बीमा मध्यस्थकर्ता।प्राधिकरणले मस्यौदामा समेटेको बीमा मध्यस्थकर्ताको भूमिकामा कमिशनमुखी र नाफामुखी नभएर इमानदारितापूर्वक बीमितको हित हुने गरी बीमितलाई साक्षर बनाउन अनुरोध गरिएको छ।
मस्यौदामा समेटिएका बीमा मध्यस्थकर्ताहरुको दायित्व
- ग्राहक तथा सर्वसाधारणसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दा व्यापारिक नाफा वा कमिसनलाई मात्र प्राथमिकता नदिएर उपभोक्ताको बृहत हित र बीमा सचेतनालाई केन्द्रमा राखेर व्यावसायिक आचरणको पूर्ण पालना गर्ने।
- सम्भावित बीमितको आर्थिक अवस्था र वास्तविक जोखिमको वस्तुनिष्ट विश्लेषण गरेर उनीहरुको आवश्यकता सुहाउँदो सही बीमा योजना छनौट गर्न व्यवसायीक परामर्श प्रदान गर्नुपर्ने।
- सम्भावित ग्राहकलाई बीमालेख बिक्री गर्नुअघि सम्बन्धित बीमा योजनाको विशेषता, रक्षावरण, अपवाद, बीमाशुल्क र दाबी प्रकृयाका बारेमा बुझ्ने गरी सरल भाषामा बुझाउने र उनीहरुको बीमा ज्ञान अभिवृद्धिमा सहयोग गर्ने।
- नागरिकहरुमा बीमा सीपको विकास गर्न प्रस्ताव फारम कसरी सही रुपमा भर्ने आवश्यक कागजात कसरी सुरक्षित राख्ने र डिजिटल माध्यमबाट बीमाशुल्क कसरी भुक्तानी गर्ने भन्नेजस्ता व्यवहारिक पक्षहरु सिकाउने।
- समाजमा बीमाप्रति रहेका नकारात्मक भ्रम, अन्धविश्वास तथा गलत धारणालाई चिर्दै बीमा फजुल खर्च नभई जोखिम व्यवस्थापनको अनिवार्य साधन हो भन्ने कुरा बुझाई नागरिकहरुमा सकारात्मक बीमा मनोवृत्तिको निर्माण गर्ने।
मस्यौदामा बीमा सचेतनाका लागि बीमालेख बिक्री गर्नुअघिको अवस्थासम्म मात्र बीमा मध्यस्थकर्ताको भूमिका अपेक्षा गरिएको छ। बीमालेख बिक्री गरिसकेपछि बीमालेख कर्जा सुविधा, चुक्ता मूल्यसम्बन्धी सुविधा, समर्पण मूल्यसम्बन्धी सामान्य जानकारीलगायतका विषयहरुबारे पनि अभिकर्ताले बीमितलाई सक्दो जानकार बनाउनुपर्छ।
यसबाहेक बीमाशुल्क भुक्तानीका लागि प्राप्त हुने १५ देखि ३० दिनसम्मको मोहलत अवधिको उपयोग कसरी गर्ने ? यो अवधिभित्रै बीमाशुल्कको किस्ता रकम भुक्तानी नगर्दा हुन सक्ने नोक्सानी, बीमाको किस्ता नियमित भुक्तानी नगर्दाको नतिजा, बीमामा जोखिम बहन के हो ? र बोनस के हो ? यी विषयहरुबारे पनि बीमितले जानकारी पाउनुपर्ने अधिकार छ।
कुनै पनि बीमितले बीमालेखको सर्त, सेवा र सुविधा र बीमाका प्राविधिक पक्षबारे जति बढी स्पष्ट रुपमा बुझ्न सक्यो उति बढी उसले बीमा अपनाउँछ। तर, अपर्याप्त जानकारी दिएर बीमालेख बिक्री गरिएको छ भने कुनै अवस्थामा बीमालेखको कुनै विशेष सर्त अन्य कुनै पक्षबाट व्याख्या गरिएको अवस्थामा बीमितले ठगिएको अनुभूति गर्छन् र रोषमा बीमालेख नै रद्द गर्ने अप्रिय निर्णयसमेत गर्न सक्छन्। त्यसैले अभिकर्ताले जालझेल गर्ने, ढाँट्ने, छल्ने र ठग्ने प्रवृत्तिबाट नभएर असल सहयोगी र शुभचिन्तकको भूमिका निर्वाह गरेर बीमितलाई बीमाबारे साक्षर बनाउनुपर्छ।












