काठमाडौं । माछापुच्छ्रे बैंकको अग्राधिकार शेयर पनि बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
नेप्सेमा माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँबराबरको ‘माछापुच्छ्रे अविमोच्य अञ्चिति अग्राधिकार शेयर’ सूचीकृत भएको हो। जसअनुसार बैंकको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर सूचीकृत भएको छ।
बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।
अब माछापुच्छ्रे बैंकको अग्राधिकार शेयर पनि भोलि बुधबारबाट कारोबारमा आउनेछ। यो शेयर संस्थागत लगानीकर्ताबीच मात्र किनबेच हुनेछ। किनकि सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकरलगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ।
आजै एनएमबि बैंकको ३ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर पनि नेप्सेमा सूचीकृत भएको थियो। यो अग्राधिकार शेयरको लाभांशदर पनि ८.२५ प्रतिशत नै रहेको छ।












