काठमाडौं । सरकारले बीमा अभिकर्तालाई पनि मूल्य अभिवृद्धि करको दायरामा समेट्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक विधेयक (बजेट वक्तव्य) मा बीमा अभिकर्ताको व्यवसाय गर्ने व्यक्तिका लागि मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता हुनुपर्ने प्रस्ताव गरेको हो।
बजेट वक्तव्यमा लेखिएको छ, बीमा अभिकर्ताको व्यवसाय गर्ने कुनै पनि व्यक्तिले आर्थिक वर्ष २०८२।८३ वा सोभन्दा अघि कानून बमोजिम मूल्य अभिवृद्धि कर असुल नगरेको भएमा लाग्ने कर सोमा लाग्ने ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा हुनेछ र त्यस्तो व्यक्तिले कर विवरण समेत बुझाउनुपर्नेछैन ।
हालसम्म बीमा अभिकर्ताहरू अायकरमा मात्र दर्ता भए पुग्ने व्यवस्था थियो । सरकारले प्रस्ताव गरेको विधेयकको प्रावधान संसदबाट हुबहु पारित भएमा अभिकर्ताहरू मूल्य अभिवृद्धि करमा समेत दर्ता हुनुपर्नेछ।
बीमा अभिकर्ताले गर्ने व्यवसायको कमिशनवापतको रकममा सरकारले १५ प्रतिशत अग्रिम कर कट्टी गर्दै आएको छ।

नयाँ व्यवस्था अनुसार, अभिकर्ताहरू मूल्य अभिवृद्धि करमा समेत दर्ता हुनुपर्ने भएपछि उनीहरूले कर बिजक समेत जारी गर्नुपर्ने देखिएको छ। उदाहरणका लागि हाल कुनै अभिकर्ताले कमिशनवापत रू २५,००० आम्दानी गर्दा १५% स्रोतमा कर कट्टी रू. ३,७५० कट्टा गरेर बाँकी रू २१,२५० बीमकले सिधै अभिकर्ताको बैंक खातामा नै जम्मा गरिदिने अभ्यास छ। अब भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था लागू भएपछि रू. २२,१२४ कर योग्य आम्दानीमा १३% भ्याटवापत रू. २,८७६ थप गरि कुल रू. २५,००० को बिजक अभिकर्ताले जारी गर्नुपर्नेछ।
मूल्य अभिवृद्धि कर सहितको कुल रू २५,००० को बिल प्राप्त गरेपछि बीमकले श्रोतमा करकट्टी(१.५ प्रतिशत) वापत रू. ३३१.८५ पैसा कट्टा गरेर अभिकर्तालाई मूल्य अभिवृद्धि कर सहितबाँकी हुन आउने रू. २४,६६८.१५ भुक्तानी दिनेछ। यो भुक्तानी प्राप्त रकममध्ये अभिकर्ताले भ्याटवापतको रू. २,८७६ सरकारी राजश्व कोषमा जम्मा गर्नुपर्नेछ। यसरी श्रोतमा अग्रिम कर कट्टी र भ्याट दुबैवापतको रकम कट्टा गरि सकेपछि अभिकर्ताले खुद कमिशनवापत रू. २१,७९२.१५ भुक्तानी प्राप्त गर्नेछन् ।
हालको १५ प्रतिशत अग्रिम कर कट्टी सम्बन्धि व्यवस्थाको तुलनामा भ्याट र श्रोतमा कर कट्टी सम्बन्धि व्यवस्था कार्यान्वयनमा आएको अवस्थामा अभिकर्ताको कमिशन आम्दानीमा सकारात्मक प्रभाव पर्ने देखिएको छ। उनीहरूले साबिकमा प्राप्त गर्दै आएको भन्दा केही बढी रकम भुक्तानी प्राप्त गर्नेछन् । बीमा अभिकर्ताले हरेक वर्ष आय विवरण पेश गर्नु पर्ने छ।












