काठमाडौं । भारतको दिल्ली उच्च अदालतले बीमितको पक्षमा एउटा महत्वपूर्ण आदेश जारी गरेको छ।
अदालतले बीमा कम्पनीले सडक दुर्घटनामा मात्रै नभई गाडी चलाउँदा अज्ञात समूहे हत्या गरेको खण्डमा बीमा दाबी भुक्तानी गर्नुपर्ने आदेश दिएको हो। उच्च अदालतको यो फैसला हालै एउटा ट्रकका चालकको गाडी चलाइरहेको बेला भएको हत्याको घटनामा परेको मुद्दापछि आएको हो।
उच्च अदालत न्यायाधीश मनोज कुमार ओहरीको इजलासले दिएको आदेशमा गाडी चलाउँदा भएको हत्या कुनै षड्यन्त्र वा निजी कारणले नभएको अवस्थामा मात्रै बीमा कम्पनीले दाबी भुक्तानी दिनुपर्ने भनिएको छ। ‘यदि गाडी चलाउने क्रममा निजी कारणले हत्या भएको छ भने बीमा कम्पनी दाबी भुक्तानी गर्न बाध्य हुने छैन’, आदेशमा भनिएको छ, ‘यदि गाडी चलाउने क्रममा अज्ञात समूहले हत्या गर्छ भने पीडित परिवारले बीमा दाबी भुक्तानी पाउनुपर्छ।’
बीमा कम्पनीले भने प्रावधानअनुसार केवल सडक दुर्घटनामा दोस्रो सवारीसाधनको लापरबाहीले मृत्यु भएमा वा घाइते भएमा गाडी चालक तथा पीडित परिवार र गाडीको दाबी भुक्तानी दिइने गरेको जनाएको थियो। तर, दिल्ली अदालतले बीमकको यो जिकिरलाई पूर्ण रुपमा खारेज गरिदिएको छ। अदालतले भनेको छ, ‘गाडी चलाउने क्रममा चालकको हत्या भएको अवस्थामा परिवारलाई भगवानको भरोसामा छाड्न सकिन्न।’
यो घटनामा चालकले रातको ड्युटीको समयमा ट्रक चलाइरहेका थिए। उनीसँग रहेको बीमा पोलिसी पनि भ्यालिड थियो। अचानक अज्ञात समूहले लुट्ने हिसाबले उनीमाथि हमला गरे र उनको घटनास्थलमै मृत्यु भयो। पीडित परिवारले बीमा दाबीका लागि कम्पनीमा पुग्दा दाबी भुक्तानी दिन नमानेपछि यो मुद्दा अदालत पुगेको थियो। –एजेन्सी












